Sajhamanch Archive

प्रदेश २ मा भारतबाट एक सातामै आए साढे ६ हजार भन्दा धेरै

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । प्रदेश २ का जिल्लामा भारतबाट एक सातामै साढे ६ हजार भन्दा धेरै मानिस आएका छन् ।

जेठ ६ देखि १२ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १३ जना मानिस भारतबाट आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मानिसहरुलाई राख्न एक सातामा थप ७८ क्वारेन्टाइन थपिएको छ ।

मन्त्रालयका अनुसार ६ जेठसम्म २ सय वटा क्वारेन्टाइनमा ६ हजार ७ सय १० बेड भएकामा १२ जेठसम्म २ सय ७८ क्वारेन्टाइनमा १४ हजार २ सय ३२ बेड संख्या पुर्‍याइएको छ । ६ जेठसम्म क्वारेन्टाइनमा ३ हजार ९ सय ८४ जना रहेकामा १२ जेठसम्म १० हजार ६ सय ८७ जना पुगेका छन् । प्रदेश २ मा अधिकांश क्वारेन्टाइन सामुदायिक विद्यालयमा बनाइएको छ ।

जनकपुरधाम उप महानगरपालिकाले अघिल्लो हप्ता गोपाल दास धर्मशालालाई क्वारेन्टाइन बनायो । ५० बेड क्षमताको उक्त क्वारेन्टाइनमा बस्नेको संख्या अहिले ७५ पुगेको छ । भारतबाट आउनेको संख्या ह्वात्तै बढेपछि हप्ता दिनमै क्वारेन्टाइन भरिभराउ बनेको छ ।

भारतबाट धमाधम मानिसहरु स्वदेश फर्किन थालेपछि उपमहानगरपालिकाले मंगलबारदेखि वडा नम्बर २० को बसहियामा अर्को क्वारेन्टाइन सञ्चालनको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृतगोपाल रेग्मीले जानकारी दिए ।

सप्तरीको सीमावर्ती बलान बिहुल गाउँपालिकामा पछिल्लो हप्ता भारतबाट १ सय ५१ जना आएका छन् । लकडाउन अवधीभर १ सय ८५ जना आए पनि ३२ जना परीक्षणपछि घर गइसकेको गाउँपालिका अध्यक्ष दयानन्द गोइत बताउँछन् ।

कोरोना संक्रमणबाट बच्न ११ चैत २०७६ बाट लकडाउन सुरु भएदेखि नै सीमामा व्यापक मात्रामा सुरक्षाकर्मी खटाएर आवतजावतमा रोक लगाइएको थियो । तर गएको ४ जेठदेखि सीमानाका खुकुलो बनाएसँगै प्रदेश २ का आठ वटै जिल्लामा भारतबाट भित्रिनेको संख्या अत्यधिक बढेको छ । अहिले एउटा जिल्लामा दैनिक ५० जनाको हाराहारीमा मानिस भारतबाट आइरहेका छन् ।

जेठ ६ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १० बेड भएको २ सय क्वारेन्टाइन थियो र त्यहाँ ३ हजार ९ सय ८४ जना मानिसलाई राखिएको थियो । जेठ १२ गते सोमबारसम्ममा क्वारेन्टाइन बेड संख्या १४ हजार २ सय ३२ पुग्यो भने त्यहाँ १० हजार ६ सय ९७ जना बसेका छन् ।

क्वारेन्टाइन नथप्ने जिल्ला सर्लाही र बारा मात्रै छन् । सर्लाहीमा ३९ र बारामा १७ वटा क्वारेन्टाइन रहेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *