Sajhamanch Archive

कर्णाली साकोसमा तीनवटा सहकारी एकीकरण गरिँदै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

झापा । जिल्लाको पुरानोमध्येको एक तथा लघुवित्तको माध्यमबाट समुदायमा वित्तीय सहजता पुर्याउँदै आएको बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थासँग अन्य तीनवटा सहकारीको एकैसाथ एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्दचोकमा रहेको गतिशील कृषि सहकारी संस्था, शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा रहेको ग्रामीण कृषि सहकारी संस्था र दमकको उद्धार बचत तथा ऋण सहकारी संस्था कर्णाली साकोससँग एकीकृत हुन लागेका हुन् ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ को भावनाअनुसार कारोबारको प्रकृति मिल्ने सहकारीहरु एकापसमा गाभिएर वित्तीय सक्षमता बढाउन पछिल्ला वर्षहरुमा एकीकरणको अभ्यास हुँदै आएको छ ।

‘चारवटै सहकारीले संस्था एकीकरणका लागि साधारणसभाबाट अनुमति पाइसकेका छन्’ कर्णाली साकोसका अध्यक्ष टिएस प्रधान भन्छन्, ‘लकडाउनका कारण विभागीय स्वीकृति लिने प्रक्रियामात्र बाँकी छ ।’

यी संस्थाहरुले एकापसमा एकीकृत कारोबारसमेत सुरु गरिसकेको पाइएको छ । यद्यपी संस्था एकीकरणको औपचारिक घोषणा चाहिँ विभागीय स्वीकृति प्राप्त गरेपछिमात्रै गरिने अध्यक्ष प्रधानको भनाई छ ।

लकडाउनमा पनि कारोबार हुँदै

नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले गरेको दुई महिनाभन्दा लामो लकडाउनको अवधिमा पनि कर्णाली साकोसले सदस्यहरुलाई वित्तीय सेवा प्रवाहमा कमी नरोखेको अध्यक्ष प्रधानले दावी गरेका छन् ।

‘कोरोना संक्रमण फैलिन थालेपछि पछिल्ला केही दिन बनियानी र पथरिया सेवा केन्द्र चाहिँ बन्द गरिएका छन्’ अध्यक्ष प्रधानले थपे, ‘संस्थाका २० वटा सेवा केन्द्रहरु ती दुई बाहेक सबै सुचारु छन् ।’

कर्णाली साकोसले रेमिट्यान्सको सुविधालाई निरन्तर सञ्चालन गर्दा ग्रामीण भेगका सदस्य एवम् सेवाग्राहीहरुलाई थप राहत भएको उनको भनाई छ ।

संस्थाले आफ्ना केही नियमित तर विपन्न सदस्यहरुलाई पाँच हजार रुपैयाँसम्म दुई महिनाका लागि निब्र्याजी सापटी तथा १० हजार रुपैयाँसम्म न्यून ब्याजदरमा कर्जा प्रवाह गरेर ‘सदस्य जोगाउँ’ कार्यक्रम पनि गरेको छ । यस्तै किसान लक्षित विपद कर्जा, कृषि कर्जा आदि उपलब्ध गराउँदै खेतीपातीको समयमा सदस्यहरुलाई आर्थिक अभाव हुन नदिन प्रयत्नशील रहेको अध्यक्ष प्रधान बताउँछन् ।

संस्थाले चैत–वैशाख–जेठ महिनामा पाकेको कर्जा ब्याज असारभित्र बुझाउँदा १० प्रतिशत छुट दिने निर्णय पनि गरेको जनाइएको छ ।

लघुवित्त कर्जामा समस्या छैन

लामो अवधिको लकडाउन पछि समुदायमा आधारित वित्तीय कारोबार तहसनहस हुने बजारीया चर्चालाई कर्णाली साकोसका अध्यक्ष प्रधानले अस्वीकार गरेका छन् । ‘माइक्रोफाइनान्समा त्यस्तो समस्या आउँदैन, समूह फिल्टर भएसकेका छन्, हाम्रो लगानी सुरक्षित छ भन्नेमा विश्वस्त छौं’ अध्यक्ष प्रधानको भनाई छ ।

लघुवित्त कर्जा कार्यक्रममा सानो सानो रकम लगानी गरिएको हुन्छ । एउटा व्यक्ति पलायन भए पनि समूह जमानीमा रहेका हुन्छ, यसैले रकम नडुब्ने विश्वास गरिन्छ ।

अध्यक्ष प्रधानले दृढतापूर्वक भने ‘विगतमा पनि एकाध सदस्यहरुले नियम उल्लंघन गरेकै हुन्थे, अहिले त हामीले फिल्ड कर्मचारी र केन्द्र प्रमुखलाई सम्पर्कमा राखिरहेका छौं । त्यसैले बजारमा चलेका हल्लाहरु विश्वास गरिहाल्न आवश्यक ठान्दिन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *