Sajhamanch Archive

दुई फड्को मार्न दुई पाइला पछि हट्नुपर्छ : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको बताएका छन् ।

बजेटबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले अहिले जनताको जीवनरक्षा नै प्राथमिक विषय रहेकको भन्दै यो बजेटले आगामी वर्षका लागि शक्ति सञ्चयको काम गर्ने बताए ।

‘दुई फड्को अघि मार्न दुई पाइला पछि हट्नुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने,‘बजेट ४ प्रतिशतले कटाएका छौं, किनकि हामी अहिले कोरोना संक्रमणका कारण तरल अवस्थामा छौं । यो अवस्था पार गरेर हामी आगामी वर्षहरूका लागि शक्ति सञ्चय गर्छौं ।’

डा.खतिवडाले देशभित्र अन्तर्राष्ट्रिय व्यापार, लगानी, पर्यटक आगमन र आन्तरिक आर्थिक गतिविधि सबै ठप्प रहेको र विश्वव्यापी रूपमा नै कोरोनाले असर पारिरहेकाले बजेट ल्याउँदा संयमता अपनाइएको बताए ।

‘जे भए पनि अर्को वर्षको आर्थिक वृद्धिलाई जग बसाउने गरी बजेट ल्याएका छौं,’ उनले भने,‘छिटो प्रतिफल दिने आयोजना प्राथमिकतामा छन्, नयाँ गेम चेन्चर आयोजनालाई बजेट दिएर अघि बढ्न चाहेका छौं ।’

संघीयता कार्यान्यवनको चरणमा जाँदा साधनस्रोतको हिसाबले संघको बजेट संकुचित हुँदा पनि प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई यथावत राखिएको उनले बताए । वित्तीय समानीकरण यथावत् राखिएको भन्दै उनले स्थानीय तह र प्रदेशले यसबाट बढी लाभ पाउने उल्लेख गरे ।

खतिवडाले यसवर्ष स्वास्थ्य र शिक्षामा बढी प्राथमिता दिएर बजेट ल्याएको बताए । ठूला आयोजनाहरू अघि बढाउन नसकिने अहिलेको परिस्थिति र अन्य क्षेत्रले पाएको प्राथमिकताका कारण भौतिक पूर्वाधारतर्फको बजेट खुम्चाइएको खतिवडाको भनाइ छ ।

तीन वर्षमा स्वास्थ्यको बजेट दोब्बर भएको भन्दै उनले कृषि र श्रम तथा रोजगारमा पनि उल्लेख्य बजेट बढाइएको र त्यसले कोरोनाबाट परेको प्रभावलाई कम गर्न सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

खतिवडाका अनुसार यो वर्ष आएको कार्यक्रमबाट करिब सातदेखि आठ लाख रोजगारी सिर्जना हुनेछ। त्यसका लागि बजेट नै राखेर कार्यक्रहरू ल्याएको खतिवडाको भनाइ छ। करिब १० लाख विदेशी कामदार नेपालमा रहेको भन्दै उनले सिप प्रदान गर्ने हो भने तत्कालै ४/५ लाख नेपालीले त्यसलाई विस्थापित गर्नसक्ने अवस्था रहेकाले त्यसअनुसारको बजेट ल्याइएको खतिवडाले बताए ।

उनले ५५ अर्बदेखि ६० अर्ब राहतको प्याकेज ल्याइएको बताए । उनले सबै राहत प्याकेज सिधा पैसा वितरण गर्नेगरी नआउने भन्दै विभिन्न तबरले दिइएका छुट, सहुलियत, सस्तो ब्याजदरको कर्जालगायतका विभिन्न सुविधामा सरकारको ५५ देखि ६० अर्ब रुपैयाँ खर्च हुने दाबी गरे ।

‘बिजुलीमा दिइने भनेको छुटबाट ८ अर्ब भार हामीलाई पर्छ, हवाई इन्धनमा कर घटाउँदा सवा अर्बको लाभ हवाई उद्योगले पाउँछ,’ ‘विभिन्न सहुलियत कर्जाको ब्याज अनुदानका रूपमा दिँदा हामीलाई १४ अर्ब हामीले खर्चिनुपर्छ भने राष्ट्र बैङ्कबाट एक खर्बको पुनर्कर्जा दिँदा २० अर्बको ब्याज सहुलियत दिनुपर्छ ।’

उनले यो संकटको समयमा निजी क्षेत्रलाई राहत र अनुदान दिनैपर्ने अवस्था आएको भन्दै विगतमा जसरी कार्यक्रमलाई नकारात्मक ढंगले हेर्न नहुने अर्थमन्त्रीको भनाइ छ । आर्थिक क्रियालापमा थप क्षति हुन नदिन र निजी क्षेत्रको मनोबल गिर्न नदिन यस्तो प्याकेजका कार्यक्रम ल्याउनुपरेको खतिवडाले बताए।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *