Sajhamanch Archive

इङ्ल्यान्डसँग खेल्न वेस्टइन्डिज सहमत

Published: in खेलकुद, मिडियाबाट साभार by .

एजेन्सी । घरेलु टोली इङ्ल्यान्डसँग जुलाईमा तीन टेस्टको शृंखला खेल्न वेस्टइन्डिजले सहमति जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण अन्योलमा परेको टेस्ट शृंखला जुलाईमा खेल्न क्यारेवियन टोली सहमत भएको हो।

हाललाई जुलाईमा निर्धारण गरिएको टेस्ट शृंखलाको निर्धारित मिति जुन ८ मा निर्धारण गरिएको छ। यससँगै समर सिजनको सबै तालिका इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले अर्को साता सार्वजनिक गर्ने बुझिएको छ। ‘अहिलेका लागि घरेलु टोली र वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखलाका लागि सैद्धान्तिक रूपमा स्वीकृति दिएको छ’, बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो स्वीकृति वेस्टइन्डिज क्रिकेट बोर्ड, त्यहाँको स्वास्थ्य संस्थालगायतका संघसंस्थाको सल्लाह र इङ्ल्यान्ड एन्ड वेल्स बोर्डले विभिन्न निकायसँग छलफल गरेपछि सम्भव भएको हो।’

घरेलु टोलीसँगको टेस्ट शृंखला खेलेबापत ५० प्रतिशत मात्र पारिश्रमिक पाउने भएका छन्। क्यारेवियन टोली जुन ८ मा इङ्ल्यान्ड भ्रमणका लागि निस्कने छ। इङ्ल्यान्ड पुगेपछि वेस्ट इन्डिज टोलीका सबै खेलाडी, प्रशिक्षक र अफिसियलले १४ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ।

बन्द रंगशालामा हुने खेलअघि सम्पूर्ण खेलाडीको कोरोना भाइरसको परीक्षण गरिनेछ। यस्तै ग्राउन्ड स्टाफ, अफिसियल र खेलाडी बस्ने क्षेत्र छुट्ट्याइने छ। यस शृंखलाका लागि अहिलेसम्म बेलायती सरकारले भने अनुमति दिइसकेको छैन। सरकारले अनुमति दिएपछि मात्र शृंखला सञ्चालन हुनेछ।

टेस्ट शृंखला साउथ ह्यापटनको द बल र म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा हुनेछ। इङ्ल्यान्डले विभिन्न राष्ट्रसँग तय भएको अन्तर्राष्ट्रिय शृंखलालाई मध्यनजर गर्दै ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेको छ। इङ्ल्यान्डले यस समरमा पाकिस्तान, आयरल्यान्ड र अस्ट्रेलियासँग शृंखला खेल्ने तयारी गरेको छ।

अन्नपूर्ण पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *