Sajhamanch Archive

गाँजा सेवनबारे विवाद, ढुङ्गाले हानेर साथीको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

दाङ । गाँजा सेवनको विषयमा भएको विवादका कारण दाङमा एक युवाको हत्या भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा कोठा भाडामा लिएर बस्ने २९ वर्षीय मन्दिप भुजको हत्याको प्रमुख कारण गाँजा सेवनको विषयलाई लिएर भएको विवाद रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख हरिहरनाथ योगीले मदिरा सेवन गर्दा भुजले गाँजा खान थालेपछि भएको विवादका कारण चारजनाले मिलेर बाटोमा हत्या गरेको जानकारी दिए।

शनिबार राति तुलसीपुरको अटो भिलेजस्थित चौधरी होटेलमा सँगै बसेर घरेलु मदिरा सेवन गर्ने क्रममा भुजले गाँजा सेवन गर्न थाले। अर्घाखाँची जिल्लाको ढिकपुरा वडा नं. ४ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी सौरभ पोखरेल र भूजको बीचमा विवाद भयो।

छुट्टै टेबुलमा बसेर मदिरा सेवन गरिरहेका पोखरेलले भुजलाई किन गाँजा खाइस्रु डिस्टर्व भयो भन्दै हप्काए। भुजले तैंले पनि त पहिला खान्थिस् नि, भन्ने जवाफ फर्काए।

त्यही विषयमा दुवै पक्षका बीचमा वादविवाद सुरु भयो। भुज एउटा टेवुलमा थिए भने पोखरेल छुट्टै टेवुलमा बसेर साथीहरुसँगै मदिरा सेवन गरिरहेका थिए। रातको दश बज्यो । होटेल साहुनीले आफ्ना पति नभएको भन्दै घर जान सबैलाई आग्रह गरिन्। उनीहरु त्यहाँबाट सँगै बाटो लागे।

तुलसीपुर–५ निवासी अजय बुढाथोकी, आशिष नेपाली, तुलसीपुर १८ का ओमबहादुर सार्की पनि साथमै थिए। बाटोमा हिँड्दै गर्दा उनीहरुबीच त्यही विषयमा फेरि विवाद चल्यो। त्यही क्रममा तुलसीपुर ५ स्थित ज्ञानज्योति आधारभूत विद्यालय नजिकै पुगेपछि पोखरेलले भुजको टाउकोमा ढुङ्गाले हाने। सँगै रहेका बुढाथोकी, नेपाली र सार्की पनि भुजमाथि जाइलागे, हात खुट्टाले प्रहार गरे। भुज भुइँमा लडेपछि पुनः पोखरेलले ठूलो ढुङ्गा उठाएर कञ्चट र अनुहारमा थिचे।

भुजको मृत्यु भएको निश्चिय भएपछि चारै जनाले सल्लाह गरी घटनास्थल भन्दा ४० मिटर उत्तर पश्चिमको पातुखोलामा बगरमा बालुवाले छोपेर ढुङ्गा लुकाएर राखे। हत्यामा प्रयोग भएको त्यो ढुङ्गा पनि प्रहरीले सार्वजनिक गरेको छ । चारै जनाले घटना कसैलाई नभन्ने वाचा गरेर घर–घर गएको भन्ने खुल्न आएको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ।

भुजको शव फेला परेपछि प्रहरीले ६ घन्टाकै अन्तरालमा सबै आरोपितहरुलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने उनले बताए।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *