Sajhamanch Archive

माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु विश्वविद्यालयका कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने भएका छन् ।

त्रिवि आंशिक प्राध्यापक सङ्घले विज्ञप्ति निकालेर आफूहरुको माग पूरा गर्न पटक-पटक अनुरोध गर्दा पनि सम्बोधन नभएकाले कक्षा नलिने र अरु सबै प्रकारका शैक्षिक क्रियाकलापमा सहभागी नहुने जनाएको हो । विगत १४ वर्षदेखि अध्यापन गराउँदै आएका आंशिक प्राध्यापकका माग पूरा नभएसम्म शैक्षिक गतिविधिमा संलग्न नहुने सङ्घले जनाएको छ ।

सङ्घले २०७४ साल मङ्सिर ८ गते मन्त्रिपरिषद्ले गरेको त्रिभुवन विश्वविद्यालयमा दरबन्दी थप गरेर आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय कार्यान्वयन र अहिलेसम्मको पारिश्रमिक उपलब्ध नभएसम्म आन्दोलन फिर्ता नहुने पनि जनाएको छ ।

लकडाउनको बेलामा पनि आंशिक शिक्षकले कक्षा लिने लगायतका गतिविधिमा संलग्न भइरहेकोमा त्रिभुवन विश्वविद्यालयले पारिश्रमिक उपलब्ध गराउनेलगायत आफूहरुको माग पूरा नगरेकाले शैक्षिक कार्यक्रम बहिष्कार गर्नुको विकल्प नभएको सङ्घले जनाएको छ ।

वैशाख १९ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालगायत पदाधिकारीले एक हप्तामा समस्या समाधान गर्ने बताए पनि अझै समस्या समाधान नभएपछि कक्षालगायत शैक्षिक गतिविधिमा सहभागी नहुने निर्णय गर्नुपरेको आंशिक प्राध्यापक सङ्घका अध्यक्ष डाक्टर महेश गजुरेलले जानकारी दिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *