Sajhamanch Archive

राष्ट्रपति र प्रधानमन्त्रीबीच सेना परिचालनबारे छलफल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

आज भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमणका बीच अवस्थालाई सहजीकरण गर्न सेना परिचालनको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरेपनि के विषयमा छलफल भएको भन्नेबारे आफूलाई थाहा नभएको बताए । तर प्रधानमन्त्री निकट स्रोतले भने सेना परिचालनको सन्दर्भमा भेटवार्ता भएको बतायो । यसविषयमा केही दिनअघिको क्याबिनेट बैठकमै छलफल भएको थियो ।

संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनसक्ने उल्लेख छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले विदेशबाट ल्याउने नेपालीको व्यवस्थापन र देशभरको क्वारेन्टिनको व्यवस्थापनका लागि सेना परिचालन हुनसक्ने बताए । यसबारे सरकारले निर्णय गरेपछि सेना परिचालन हुने उनको भनाइ छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *