Sajhamanch Archive

यी शर्तमा महाराष्ट्रले दियो सुटिङ अनुमति

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

देश विगत २ महिनादेखि लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनको विकल्प रोजेपछि नेपालका हरेक क्षेत्र पूर्ण रुपमा बन्द छन् । नेपाली फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । लकडाउनअघिसम्म केही फिल्म फ्लोर र दर्जन बढी फिल्म प्रदर्शनको तयारीमा थिए । तर, लकडाउनपछि सबै काम रोकिए ।

कोरोनाले फिल्म क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ । हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । हलहरु बन्द हुँदा हजारौं कर्मचारी बेरोजगार भएका छन् । फिल्मको छायांकन र प्रदर्शन रोकिँदा निर्माताले लाखौं घाटा बेहोर्नुपरेको छ । हल बन्द हुँदा हल सञ्चालकलाई बैंकको ब्याज तिर्नै समस्या भएको छ । यो अवस्थाबाट फिल्म क्षेत्रले कहिले उन्मुक्ति पाउला ? सबै प्रतिक्षामा छन् ।

नेपालमा ‘दिन दुई गुणा रात चौगुणा’ बढिरहेको कोरोना संक्रमणले फिल्म क्षेत्र सामान्य अवस्थामा फर्कन अझै लामो समय लाग्नसक्ने देखिन्छ । लकडाउनको अन्त्य हुँदा पनि झण्डै ६ महिना दर्शक कोरोनाको डरले फिल्म हेर्न हलसम्म जान सक्ने देखिन्न । जबसम्म हलमा फिल्म हेर्न दर्शकको चाप बढ्दैन र फिल्मको छायांकन सुरु हुँदैन तबसम्म फिल्म क्षेत्र चलायमान हुन सक्दैन ।

कोरोनाका कारण नेपाली फिल्म क्षेत्र अस्तव्यस्त हुँदा बलिउड भने जुरमुराउन थालेको छ । भारतमा कोरोनाको कहरबीच फिल्म छायांकनका लागि महाराष्ट्र सरकारले अनुमति दिन थालेको छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन त्यहाँको सरकारले सशर्त फिल्म तथा टेलिभिजन शोको छायांकन खुल्ला गरेको छ । भारतको सबैभन्दा ठूलो फिल्म उद्योग बलिउड महाराष्ट्रमा केन्द्रीत छ ।

अभिनेता अक्षय कुमारले आर बाल्कीसँग मिलेर सोमवार मुम्बईको कमलिस्तान स्टुडियोमा लकडाउनकै बीच एक सार्वजनिक सेवा विज्ञापन खिचेका थिए । उक्त विज्ञापनको छायांकनका लागि महाराष्ट्र सरकारले अनुमति दिएको थियो र सेटमा सामाजिक दूरी कायम गर्दै सावधानीपूर्वक छायांकन गरिएको थियो । छायांकनको समयमा २० जनाको मात्र उपस्थिति रहेको थियो ।

छायांकन गर्न यस्ता छन् शर्त

फिल्म तथा टिभी सिरिजको सेटमा केही नियमहरु लगाइएको छ । छायांकन सेटमा हात मिलाउन, अंकमाल गर्न र चुम्बन गर्न पाइने छैन । अरुको मेकअप प्रयोग गर्न पनि पाइने छैन । हरेक दिन कपडा धुनु पर्नेछ भने छायांकनमा प्रयोग हुने सामानहरुमा पनि कटौती गर्नुपर्नेछ । त्यस्तै, ६५ बर्षभन्दा माथि उमेर समुहका मानिसहरु, गर्भवती महिला, कलाकार वा स्टाफका पार्टनर छायांकन सेटमा जान रोक लगाइएको छ ।

महाराष्ट्रले फिल्म, भिडियो वा सिरियलको छायांकनका लागि बनाएको गाइडलाइन अनुसार, हरेक सेटमा डाक्टरहरु, नर्स र एम्बुलेन्स हुनु जरुरी छ । यदि कोहिमा कोरोना पोजेटिभ देखियो भने तुरुन्त उपचार गर्नुपर्नेछ । सेटमा हरेक तवरले सफा हुनु पर्नेछ भने सामाजिक दूरी पालना अनिवार्य गरिएको छ । एक टेन्टमा पाँच बढी मानिसहरु रहन पाउने छैनन् । फिल्म वा सिरिजमा बढि मानिसहरु जम्मा हुनुपर्ने दृश्यहरु खिच्न पनि मनाही गरिएको छ ।

कुनै पनि सेटमा ३३ प्रतिशत मात्र स्टाफले काम गर्ने पाउने नियम महाराष्ट्र सरकारले लगाएको छ । हरेक सदस्यले सेटमा प्रवेश गर्नु पहिले आफ्नो हात साबुन पानीले धुनु पर्नेछ । सेटमा आउने बेला यात्रा गर्दा लगाएको कपडा परिवर्तन गरि नयाँ लगाउनु पर्नेछ भने जुत्ता चप्पल र मोजा समेत नयाँ प्रयोग गर्नुपर्नेछ । कलाकारहरुले कस्ट्यूम पनि आँफैले लैजानु पर्नेछ ।

गाइडलाइनका अनुसार, सकेसम्म कास्टिङ, लुक टेस्ट तथा मिटिङ भिडियो कन्फ्रेन्सबाट गर्न अनुरोध गरिएको छ । हरेक कलाकारले सम्भव भएसम्म आफ्नै घरमा तयार भएर सेट जान भनिएको छ । एक कलाकारले एकजना मात्र मेकअप तथा हेयर डिजाइनरको रुपमा सहयोगी लैजान पाउनेछन् । कलाकारलाई घरबाट नै खाना लिएर सेटमा जान सल्लाह दिइएको छ ।

सेटमा जुनियर आर्टिस्ट कम प्रयोग गर्नुपर्नेछ । सबै सदस्यले परिचय पत्र बोक्न अनिवार्य गरिएको छ । साथै उनिहरुले यात्रा गर्न प्रहरीको अनुमती लिनु पर्नेछ । हरेक कलाकारको लागी अलग अलग मेकअप ब्रश तथा हेयर ब्रशको प्रयोग गर्नुपर्नेछ । मेकअपको समयमा मेकअप आर्टिस्टले पिपिई लगाउन अनिवार्य गरिएको छ ।

छायांकनका लागि महाराष्ट्र सरकारले बनाएको नियमअनुरुप नेपाल सरकारले पनि नेपाली फिल्मको छायांकन अनुमति दिन आवश्यक देखिएको छ । सरकारले सशर्त फिल्मको छायांकनका लागि अनुमति दिन सके फिल्म क्षेत्र केही हदसम्म चलायमान हुन सक्नेछ । तुरुन्तै नभएपनि नेपाली फिल्म चलायमान हुन सकेन भने भविष्यमा गम्भीर संकट बेहोर्नु नपर्ला भन्न सकिन्न ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *