Sajhamanch Archive

भारतबाट उद्धार गरिएकालाई राख्न होल्डिङ एरिया

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

भोजपुर । भोजपुरमा भारतीय सीमाबाट उद्धार गरिएका नागरिकलाई राख्न होल्डिङ एरियासहितको १ सय १५ शय्या क्षमताको क्वरेन्टीन बनाइएको छ ।

रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लावासीलाई ल्याएर राख्नका लागि व्यवस्थित रुपले क्वरेन्टीन बनाइएको हो ।

पहिलो चरणमा भैरहवाको सुनौली नाकाबाट साल्पासिलिछो गाउँपालिकाका ७ जना, षडानन्द नगरपालिकाका ६ जना, झापाको काकाडभिट्टा नाकास्थित पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाका लगायतका ४० जनालाई ल्याएर अरुण गाउँपालिकाको रानीटारमा रहेको होल्डिङ एरियाको क्वरेन्टीनमा राखिएको छ ।

विभिन्न रोजगारीको सिलसिलामा भारतको सीमानाकामा अलपत्र आफ्ना नागरिकको उद्धार गर्ने काम थालिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।

उनले भने, ‘सीमा क्षेत्रमा आएका भोजपुरका नागरिकलाई होल्डिङ्ग एरियामा ल्याएर राख्छौँ र पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकालाई जिम्मा लगाउने व्यवस्था मिलाएका छौँ।’

विशेषगरी सीमा क्षेत्रमा रोकिएका सर्वसाधरण रातरात भागेर आउनाले संक्रमण फैलिने सम्भावना बढेपछि सुरक्षित तरिकाबाट उनीहरुलाई ल्याएर क्वरेन्टीनमा राख्ने तयारीमा जिल्ला प्रशासन र स्थानीय तह जुटेका हुन् ।

संक्रमणको डरसँगै उनीहरुलाई व्यवस्थापन गर्न समस्या हुने भएकाले सम्बन्धित पालिकाले आफ्ना नागरिकको उद्धारमा दायित्वबोध गर्नुपर्ने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्की सुनाउछन् ।

उद्धार गरिएका नागरिकको स्वाब संकलन परीक्षण गरेपछि नेगेटिभ रिपोर्टको आधारमा सम्बन्धित स्थानिय तहको क्वरेन्टीनमा पठाईनेछ । परीक्षणका क्रममा कसैको रिपोर्ट पोजेटिभ देखिए उपचारका लागि धरान अथवा विराटनगरको कोराना विशेष अस्पताल पठाइने व्यवस्था गरिएको छ ।

सीमाबाट ल्याइएका नागरिकलाई व्यवस्थापनका लागि सम्बन्धित ९ वटै पालिकासँग समन्वय भइरहेको जिल्ला समन्वय समिति भोजपुरका सभापति लक्ष्मण खड्काले बताए । उनले भने, ‘सबै पालिकाहरुसँग समन्वय भइरहेको छ, अरु कुनै पनि नाकाबाट जिल्ला आउन पाइने छैन, एउटा मात्र नाका खुल्ला गरेका छौँ ।’

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *