Sajhamanch Archive

हिंसात्मक गतिविधि अन्त्य गर्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् ।

वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् । यस्तै, न्यूयोर्कका मेयरले पनि रात्री कर्फ्यूको घोषणा गरेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले हिंसा रोक्नका लागि आफूले हज्जारौं प्रहरी र सैनिक तैनाथ गर्ने बताएका छन् । पछिल्लो एक हप्तादेखि अमेरिकाका थुप्रै शहरमा हिंसा, आगजनी र लुटपाटको घटना भइरहेको छ ।

ह्वाइट हाउसबाट टिभीमा भाषण दिएपछि राष्ट्रपति ट्रम्प आफ्नो सुरक्षाकर्मीसहित नजिकैको एउटा चर्च गएका थिए ।

अमेरिकामा प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रपति ट्रम्पलाई अन्डरग्राउन्ड बंकरमा लगियो

यो चर्चलाई प्रदर्शनकारीहरुले क्षती पुर्याएका छन् । ह्वाइट हाउस बाहिर प्रदर्शनलाई प्रहरीले समाप्त गरिदिएको छ ।

यसैबीच परिवारले गराएको जर्ज फ्लोइडको पोस्टमार्टममा उनको मृत्यु अक्सिजनको कमीका कारण भएको बताइएको छ ।

परिवारका अनुसार जर्ज फ्लोइडको पोस्टमार्टम गर्ने डाक्टरले घाँटी र कम्मरमा दबाब परेका कारण उनको मृत्यु भएको बताएका छन् ।

मिनियापोलिसका एक प्रहरी अधिकारीले थुप्रै मिनेटसम्म फ्लोइडको गर्धनलाई घुँडाले थिचेर राखेका थिए ।

अमेरिकामा प्रदर्शनकारीमाथि चलाइयो ट्याङ्कर

परिवारको तर्फबाट गराइएको यो पोस्टमार्टमको नतिजा सरकारी पोस्टमार्टको नतिजाभन्दा फरक छ ।
काउन्टी मेडिकल एग्जामिनरको तर्फबाट गराइएको पोस्टमार्टममा घाँटी थिचेर अक्सिजनको कमी भएको पुष्टि गरिएको थिएन ।

आधिकारिक पोस्टमार्टममा उनको मृत्युलाई होमिसाइड वा हत्या भनिएको छ ।

यसैबीच जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शन अमेरिकाको विभिन्न शहरमा फैलिएको छ ।

वासिङ्टनमा त प्रदर्शनकारी ह्वाइट हाउस बाहिर पनि जम्मा भए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गासमेत हाने ।

रङ्गभेदको आगोमा जल्दैछ अमेरिका

लगातार छैटौं दिन अमेरिकाका विभिन्न शहरमा विरोध प्रदर्शन भयो र थुप्रै स्थानमा हिंसाले व्यापक रुप लियो ।

करिब ४० शहरमा कर्फ्यू लगाइएको छ तर मानिसहरु सडकमा उत्रिए । यसैकारण तनाव निकै बढेको छ ।

न्यूयार्क, शिकागो, फिलाडेल्फिया र लस एन्जेलेसमा प्रहरी र प्रदर्शनकारीबीच संघर्ष भयो ।

यस्तै, राष्ट्रपति ट्रम्पले प्रान्तिय गभर्नरलाई प्रदर्शनकारीविरुद्ध कडा रुपमा उत्रन आदेश दिएका छन् ।

एक भिडियो कन्फरेन्समा राष्ट्रपति ट्रम्पले दशकको सबैभन्दा खराब जाती र नागरिक अशान्तिको घटनामा गभर्नरको प्रतिक्रिया कमजोर भइरहेको आरोपसमेत लगाए ।

स्रोतः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *