Sajhamanch Archive

सेयरधनीकै कारण सहकारी संस्था बन्द

Published: in सहकारी by .

 

विराटनगर ।  साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको वाणी प्रकाशन सहकारी संस्था बन्द भएको छ । साहित्यकारहरूको आर्थिक समृद्धि र नेपाली भाषा साहित्यको उत्थान गर्ने उद्देश्यले सहकारी ऐनअन्तर्गत २०५२ मा स्थापित यो संस्था लगानी असुली नहुँदा बन्द भएको जनाइएको छ ।

संस्थाका तत्कालीन अध्यक्ष कृष्णभूषण वलको २०६९ असार ११ गते निधन भएपछि संस्था झन् धराशायी भएको स्रोतको भनाइ छ । संस्थाको २०७० सालदेखि साधारण सभा हुन सकेको छैन । त्यस बेलको साधारण सभाको आर्थिक प्रतिवेदनअनुसार संस्थाको निक्षेप १ करोड ४२ लाख ४२ हजार ५ सय ३२ रुपैयाँ र ऋण लगनी १ करोड २ लाख २६ हजार छ ।परशु प्रधान, कृष्णभूषण बल, डा. गणेश भण्डारी, विमल कोइराला, डाइमन्ड सम्सेर, कालीप्रसाद रिजाल र भरत जंगम, विवश पोखरेल, मधु पोखरेललगायत नेपाल र भारतका नेपाली भाषी साहित्यकारसहित संस्थाका करिब ३ सय सेयरधनी छन् । स्रोतका अनुसार संस्थाका सेयरधनीले ऋण लिएर नतिर्दा संस्था धराशायी भएको हो ।

जनही ५ हजार तिरेर तीन सयभन्दा बढी साहित्यकार र वचतकर्ता संस्थाको सेयरधनी बनेका थिए । स्रोतका अनुसार तिनै सेयरधनीले बिनाधितो ५ हजारदेखि एक लाखसम्म लिएको ऋण नतिर्दा संस्था बन्द भएको हो । स्रोतले ऋण लिएर नतिर्ने साहित्यकार सेयरधनीको नाम सार्वजनिक गरेन ।संस्थाले हालसम्म नेपाली भाषा साहित्यका ९० भन्दा बढी कृति प्रकाशित गरिसकेको छ । पुस्तक पनि बिक्री नहुनु र बिनाधितो प्रवाह गरिएको करोडभन्दा बढी रकम असुली नहुँदा संस्था बन्द भएको स्रोतको भनाइ छ । संस्थाले निक्षेपकर्तालाई मुद्दतीमा १२ प्रतिशत, वचतमा ८ प्रतिशत व्याज दिएर १८ प्रतिशत व्याजमा ऋण प्रवाह गर्दै आएको थियो ।

संस्थाले साहित्यिक पुस्तक प्रकाशन, सष्ट्राहरूको सम्मान, साहित्यिक सम्मेलन मात्र नभई वाणी प्रकाशनका नाममा ५ हजारदेखि ३५ हजार पुरस्कार राशि भएका दर्जन बढी साहित्यिक पुरस्कार वितरण गर्दै आएको छ ।

दाताहरूले आफ्ना पूर्खाको नाममा संस्थामा अक्षयकोष स्थापना गरी त्यसबाट आर्जन हुने व्याजले ती पुरस्कार वितरण हुँदै आएको थियो । पुरस्कारका लागि वाणी प्रकाशनमा अहिले पनि करिब १५ लाखको अक्षयकोष रहेको स्रोतको भनाइ छ । बिनाधितो ऋण लगानी गर्ने कार्यले तीव्रता पाएपछि संस्था चाँडै बन्द हुने र त्यसको जिम्मेवारी आफूहरूले लिन नसक्ने भन्दै संस्थाका केही पदाधिकारीले राजीनामा समेत दिएका थिए ।

लगानी असुली नहुँदा र कृति समेत बिक्री नहुँदा अहिले संस्था बन्द रहेको अध्यक्ष खेम नेपालीले स्वीकारे । संस्थाले करोडभन्दा बढी लगानी गरेको थियो । पछिल्लो समय करिब ६० लाख असुली गरिएको छ । राष्ट्रिय सभा सदस्य समेत रहेका नेपालीले भने, ‘अब पुन: संस्थालाई ब्युत्याउने प्रयास भइरहेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *