Sajhamanch Archive

ग्याङ लगेर चौकी आक्रमण गर्ने वडाध्यक्ष विरुद्ध १० दिन म्याद थप

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

रूकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष दीपक केसीलाई दश दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले विहीबार केसीका विरुद्ध दश दिने म्याद थप भएको बताए। ‘वडाध्यक्षलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ,’ प्रजिअ पौडेलले भने ‘प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको शिर्षकमा उहाँविरुद्ध मुद्दा दर्ता भएको छ।’

साथै पौडेलले वडाध्यक्ष र चौकी तोडफोड तथा आक्रमणमा संलग्न अन्य विरुद्ध पनि अरु थप मुद्दा चलाउने संकेत गरे। ‘उनीहरुका विरुद्ध अरु पनि मुद्दा चलाउन थप प्रमाण जुटाउने कार्य भइरहेको छ,’ पौडेलले भने।

वडाध्यक्ष केसीले मंगलवार बेलुका सवा ८ बजेतिर मदिरा सेवन गरी ग्याङ लगेर प्रहरी चौकीमा तोडफोड र आक्रमण गरेका थिए। बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रजिअ पौडेलका अनुसार वडाध्यक्षसहित अरु ४/५ जनालाई पक्राउ गरी प्रहरीले थुनामा राखेको छ।

वडाध्यक्ष केसीले वडा नम्बर १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेको दोस्रो दिन छिवाङका इञ्चार्ज सई धनबहादुर साउदले वडाध्यक्षलाई आवश्यक कानुनी कारवाही गरिपाउँ भनी जाहेरी दिएका छन्।

प्रहरी प्रतिवेदनकै आधारमा उक्त मुद्दा दर्ता भए पनि ड्युटीका प्रहरीमाथि भएको कुटपिट र हतियार समेत खोसेको हुँदा थप शिर्षकमा मुद्दा चलाउने तयारी भइरहेको स्रोतले बताएको छ।

‘हामी पोष्टमा भएको तोडफोड र आक्रमणका तस्वीरहरु धुलाउँदै छौं, स्थानीय प्रत्यक्षदर्शीको वयान संकलन गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने ‘घटनाको निष्पक्ष छानविन र दोषीलाई कारबाही हुनुपर्छ भन्ने ढंगले हामी लाग्छौं।’

उनले वडाध्यक्ष विरुद्ध अन्य थप मुद्दा नचलाउन भन्दै राजनीतिक दबाब आएको संकेत गरे। ‘घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कानुनी कारबाही हुनुपर्छ,’ ती अधिकारीले भने ‘ प्रहरीको अनुसन्धानमा राजनीतिक हस्तक्षेप उचित हैन, त्यसले प्रहरीको मनोवल उचो रहन सक्दैन।’

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *