Sajhamanch Archive

नापी कार्यालयमा सीसी क्यामेरा जडानपछि सेवाग्राहीबाट रकम असुल्न होटल र रेष्टुरेन्टको प्रयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । सेवाग्राहीबाट घुष वा नजराना नलिई काम नगर्ने आरोप लागि रहेको नापी कार्यालय झापामा सीसी क्यामेरा जडान गरिएपछि विचौलिया र कर्मचारीले सेवाग्राहीबाट रकम असुल्न नयाँ बाटो रोज्न थालेका छन् ।

घर जग्गा नाप नक्साका लागि सेवाग्राहीको बढी भीडभाड हुने भद्रपुर स्थित नापी कार्यालयमा सीसी क्यामेरा जडान गरेर कार्यालयमा हुने गतिविधिको निगरानी सुरू भएपछि विचौलिया र कर्मचारीले सेवाग्राहीबाट रकम असुल्न होटल, रेष्टुरेन्ट रोज्न थालेका हुन् ।

सेवाग्राही मैत्री सेवा प्रवाहमा कमजोर रहेको नापी कार्यालय भित्र घुषपैठ वापत रकम लिँदा सीसी क्यामेरामा प्रमाण रहने डरले लेखापढी गर्ने व्यवसायीलाई विचौलियाका रूपमा प्रयोग गरी कर्मचारीले सर्वसाधारणलाई रकम तिर्न बाध्य बनाउन छाडेका छैनन् ।

कर्मचारीले घुस नखाई काम नगर्ने, कार्यकक्ष भित्र पसेर विचौलियाको भूमिकामा रहेकाहरुले नक्सा झिक्ने, कर्मचारीले सेवाग्राहीमाथि हातपात, तथा गाली गलौज गर्ने, कर्मचारी फाँटमा नबस्ने लगायतको गुनासो आइ रहने सो कार्यालयमा विभागले सत्य तथ्य जानकारीका लागि सीसी क्यामेरा राखेर कार्यालयको गतिविधिलाई निगरानी गर्न प्रविधिको प्रयोग गरेको हो । विचौलियाले कर्मचारीलाई प्रभावमा पारी कार्यकक्ष भित्र पसेरे नक्सा चलाउने, फेरबदल गर्ने, अनावश्यक भीडभाड गरेर काममा बाधा पुर्याउने गरेका छन् ।

त्यस्ता अराजक गतिविधि रोकेर सेवाग्राही मैत्री कार्य सम्पादन गर्न सीसी क्यामेरा महत्वपूर्ण रहने नापी विभागको विश्वास छ । सीसी क्यामारा जडानपछि सेवा लिन आउने अधिकांश सेवाग्राहीको अनुभवमा विचौलियाविना काम नहुने अनुभव सुनाउने गरेका छन् । नक्सा तथा कित्ताकाटका लागि आइ पुग्ने जोसुकै सेवाग्राहीले लेखापढी व्यवसायीले भने अनुसार रकम नतिरे काम नै हुँदैन । उनीहरुको पछिल्लो अनुभव अनुसार नापीमा सेवा प्रवाहमा कर्मचारीले नयाा शैली मार्फत रकम असुल्ने गरेका छन् ।

यता नापी प्राविधिक तथा नेपाल सर्वे एशोसिएशन झापाका अध्यक्ष सरोज कुमार विश्वकर्मा भने जनपक्षीय कार्यका लागि सीसी क्यामेरा महत्वपूर्ण रहेको बताउँछन् । उनका अनुसार समाजको हेराइ नै नापी कार्यालय भित्र अनियमितता हुने कार्यालय भएको हुनाले त्यस्तो भ्रम चिर्न र यथार्थ बाहिर ल्याउन जरुरी भएकोले सीसी क्यामेरा जडान आवश्यक परेको हो ।

यस्तै कार्यालय प्रमुख डिल्ली राजभण्डारीका भनाइर्मा कर्मचारीको नियतनै खराब हो कि सेवाग्राहीको आरोप हो भन्ने विषलाई अन्तिम विन्दुमा पुर्याउन यो प्रविधि सञ्चालनमा ल्याइएको हो । कार्यालयका हरेक कोठामा सीसी क्यामेरा राखिएको भण्डारीले जनाए । अनुमानित डेढलाखको लागतमा जडान गरिएको क्यामेराले कार्यालयको मुल गेटदेखि परिसर वरिपरि काम गरिरहेको छ ।

यो प्रविधि कार्यान्वयनमा आएपछि विचौलियाले सेवाग्राहीको काम छिटो गराउने भन्दै पैसा असुल्ने र फाँटवाला कर्मचारीलाई होटलमा नजराना बुझाउने गरेका छन् । कार्यालयमा आउने सेवाग्राहीको भीड देखाएर लेनदेनविना कामा गर्न नसक्ने बाहनामा सेवाग्राही भने ठगिरहेको पीडितको गुनासो छ । पहिले कार्यालयभित्र नै पैसा माग्ने चलन थियो अहिले कार्यालय बाहिर होटलमा पैसा माग्न थालिएको छ नापीमा सेवा लिन आउने सेवाग्राहीको गुनासो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *