Sajhamanch Archive

४८ दिनपछि उदयपुरमा कोरोना संक्रमित शून्य

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । कोरोना संक्रमण देखिएको ४८ दिनपछि उदयपुरमा संक्रमित शून्यमा झरेको छ। बिहीबार कोरोना निको भएर तीन जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो। उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो ।

‘उदयपुरको भुल्केमा संक्रमण शून्यमा झरेको छ, धनकुटाको संक्रमण स्रोत अझै खोज्दै छौं ।’ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे भन्छन् ‘धनकुटामा संक्रमण कसरी देखियो खोज्दैछौं ।’ प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । भुल्केमा ४८ दिनपछि संक्रमित शून्यमा झर्दा प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ ।

चारजना स्वास्थ्यकर्मी र २ जना प्रहरीसहित सात जनामा संक्रमण देखिएको धनकुटामा भने कोरोनाको स्रोत अझै भेटिएको छैन । संक्रमणको स्रोत नभेटिए पनि धनकुटाका चार जना संक्रमित स्वास्थ्यकर्मी बिहीबार डिस्चार्ज भएका छन् ।

भुल्केपछिको हटस्पट झापाको कचनकवल गाउँपालिका बनेको छ । कचनकवल गाउँपालिकामा मात्र १०२ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये कचनकवलका १७ जनासँगै ७५ जना उपचारपछि घर फर्किएका छन् । देशभर बिहीबारसम्म २ हजार ६ सय ३४ पुगेको छ । कोरोनाकै कारण १० जनाले ज्यान गुमाएका छन् ।

‘अझै केही दिन कोरोना संक्रमण बढ्छ ।’ सामाजिक विकासमन्त्री घिमिरे भन्छन् ‘अब कोरोनासँग भाग्ने होइन कोरोनासँग सतर्कतासँगै दैनिकीलाई अगाडि बढाउनुपर्छ ।’

स्रोत :अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *