Sajhamanch Archive

ऋतिका डेरीको मनपरी, बजारमा उत्पादन र उपभोग्य मिति बिनाको दूध खुल्लमखुल्ला बिक्री

Published: in अर्थतन्त्र, विविधा, समाज by .

झापा । झापाको मेचीनगर–१२ धाइजनमा उद्योग रहेको ऋतिका डेरी उद्योगबाट उत्पादित पञ्चामृत दूधमा कैफियत देखिएको छ । झापा लगायत मोरङ र सुनसरी जिल्लाका उपभोक्ता सम्म पुग्ने दूधमा कैफियत देखिएको उपभोक्ताले बताएका छन् । उपभोक्ताको गुनासो आएपछि जिल्लाको शिवसताक्षी नगरमा शुक्रबार गरिएको अनुगमनमा उक्त उद्योगबाट उत्पादित पञ्चामृत नामको दूधमा समस्यै समस्या देखिएको हो ।

उद्योगबाट उत्पादित दूधमा न्यूनतम मापदण्डसमेत नपुर्याइ बिक्रीका लागि बजारमा पुगेपछि उपभोक्ताको गुनासो आएको अनुगमन समितिले बताएको छ । शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल नेतृत्वको टोलीले शुक्रबार बजारमा बिक्रीका लागि ल्याइएको उक्त दूधको अनुगमन गरेको थियो ।

नगरको दूधे, झिलझिले र डुँडामारीमा गरिएको आकस्मिक अनुगमनका क्रममा दूधका पोकामा उत्पादन मिति र उपभोग गर्ने अन्तिम मिति उल्लेख छैन । जसका कारण उपभोक्ता गुणस्तरहीन दूधको उपभोग गर्दे आएको स्पष्ट बुझ्न सकिने स्वया उपभोक्ताले बताएका छन् ।
दूधेको खुसी डेरी तथा किराना पसल, नानु डेरी र डुँडामारीको कोपिला डेरी तथा किराना पसलमा अनुगमन गर्दा दूधको आधा लिटरको पोकामा उत्पादन मिति र उपभोग गर्ने मितिको लेवल नभेटिएको अनुगमन टोलीका प्रमुख शिवसताक्षी नगरका उपप्रमुख भोजकुमारी नेपालले बताएकी छन् ।

उनका अनुसार ऋतिका डेरीले आम उपभोक्तालाई झुक्याएर बजारमा बिना लेवलको दूध बिक्री गरेको हो । ‘खाद्य बस्तुमा उत्पादन र उपभोग गर्ने मिति अनिवार्य हुनुपर्छ ।’ उनले भनिन्, ‘बिना लेवलका खाद्य बस्तु उपभोक्ताको हितमा हुँदैन, यसले ज्यानै जान सक्छ ।’

शुद्ध र ताजाका नाममा दूध उत्पादन गर्ने उद्योगले स्पष्ट लेवल नै उल्लेख नभएको पाइएको अनुगमन टोलीमा रहेका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । दूधजस्तो बस्तुमा प्याकेटमै स्पष्ट उल्लेख गरेको हुनुपर्ने उत्पादन र उपभोग मिति नै नभएको पाइएपछि टोलीले बिक्रीका लागि डेरी पसलमा राखेको दूध जफत गरेर नष्ट गरेको थियो । अनुगमन टोलीले ९० पोका दूध जफत गरेको थियो ।

उद्योगले दूध उत्पादन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पूरा नगरेको निष्कर्श अनुगमन टोलीको छ । ‘उक्त उद्योगले दूध उत्पादन गर्दा अपनाउनुपर्ने जीएमपी, दूध उत्पादनका प्रक्रियामा अपनाउनुपर्ने उचित तापक्रम, सरसफाई लगायतका कुनै पनि मापदण्ड पालना नगरेको हुनसक्ने अनुगमन टोलीले अनुमान छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कारवाही हुन्छ ।’ अनुगमन समितिका एक सदस्यले बताए ।

‘लाखौं उपभोक्ताले उपभोग गर्ने दूधजस्तो संवेदनशील तरल पदार्थको उत्पादनमा उद्योगहरूले न्युनतम मापदण्ड पूरा नगरेको देखियो,’ अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दे शिवसताक्षी नगरका उपप्रमुख नेपालले भनिन्, ‘यो हविगत हेर्दा त दूग्ध उद्योग पूरै शिल गर्नुपर्ने देखिन्छ ।’

दूध उत्पादन गर्ने उद्योगहरूले गरेको हेलचेक्राइँ र बदमासीका बारेमा शिवसताक्षी नगरमा नियमित अनुगमन गर्ने उनले बताइन् । उद्योग संचालकलाई कानूनी कारबाहीका लागि सिफरिस गर्ने उनले बताएकी छन् । बिना लेवलका दूध बिक्री वितरण नगर्न विक्रेतालाई उपप्रमुख नेपालले अनुरोध गरेकी छन् ।

अनुगमन टोलीमा उपप्रमुख नेपालसहित ११ नम्बर वडाका अध्यक्ष भैरवकुमार श्रेष्ठ, ८ नम्बर वडाका केहरसिंह बस्नेत, जिल्ला समन्वय समिति झापाका सदस्य जुनु मोहरा, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर, पशु स्वास्थ्य सेवाका छैटौ तहका अधिकृत रामअवतार यादव लगायतको सहभागिता थियो ।

यता ऋतिका डेरी उद्योगका प्रवन्धक राजन चिमरीयाले १० दिनदेखि दूधको पोकामा उत्पादन मिति र उपभोग गर्ने मिति उल्लेख हुन नसकेको स्वीकार गरेका छन् । उनले चिसोका कारण प्रिन्ट मेटिएको भनेर सुरुमा झुट बोलेका थिए । तर, बिहीबार उत्पादन भएका करिव ३ हजार २०० लिटर दूधमा उत्पादन मिति र उपभोग गर्ने अन्तिम मिति नै उल्लेख नभएको बिषयमा भने उनले लकडाउनका कारण बजारमा प्रिन्ट गर्ने मसी नपाएर त्यतिकै बजारमा विक्रीका लागि पठाइएको बताए ।

उनले भने, ‘आजसम्म कसैले कम्प्लेन गरेका थिएनन् । त्यसैका आधारमा बजारमा दूध पठाइएको हो ।’ उनले भुलबस गल्ती नभएर जानाजान गल्ती भएको स्पष्ट पारेका छन् । ऋतिकाले झापाको काँकरभिट्टादेखि इटहरी र भित्री बजारसम्म दूध बिक्री गर्ने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *