Sajhamanch Archive

गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानले कागज खरिद गर्दा भन्सार छुटका लागि सिफारिस गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन महाप्रबन्धक सुशील कोइरालासहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

तत्कालीन महाप्रबन्धक कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्‍ने सम्झौताविपरीत गोरखापत्र संस्थानकोतर्फबाट भन्सार छुटका लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत दिएर भन्सार छुटबापतको २६ लाख १६ हजार १० रुपैयाँ हानी नोक्सानी गरेको अभियोग छ।

अख्तियारले कोइरालासँग त्यही बिगो कायम हुने गरी मुद्दा दर्ता गरेको छ। प्रिन्टसेल इमेजिङ प्रालि कम्पनीलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने गरेको पुष्टि हुन आएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनीलाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा त्यसअनुसार भएको भन्सार छुटलाई नजरअन्दाज गरी कम्पनीलाई फाइदा पुर्‍याउने काम गरेको भन्दै २६ लाख १६ हजार १० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ।

गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङका सञ्‍चालक दीपककुमार भंसालीले सम्झौताअनुसार सम्पूर्ण भन्सार शुल्क आफ्नो कम्पनीले नै सम्झौताअनुसारको रकमबाट नै व्यहोर्नु पर्नेमा सम्झौता शर्तविपरीत भन्सार छुट सिफारिस मागेको भन्दै अख्तियारले २६ लाख १६ हजार १० रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *