Sajhamanch Archive

शिवसताक्षीमा मौरीपालक किसान थपिँदै, ७ किसानलाई ५० लाख अनुदान

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by .

शिवसताक्षी । यहाँस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत प्राप्त मौरी ब्लक अनुदान र संस्थाको समान सहभागितामा करिब ५० लाख रुपैयाँको सामग्री आज वितरण गरिएको छ ।

प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मागरले विशेष समारोहका बीच संस्थाका ७ जना मौरीपालक युवा महिला किसानलाई हस्तान्तरण गरिदिएका हुन् । संस्थाका ६ जना महिला सदस्यहरुलाई जनही ४७–४७ सेट मौरी गोला, मौरी घार र घार स्टेण्ड गरी सात लाख पाँच हजार रुपैयाँको सामग्री अनुदानमा दिइएको छ भने एकजनालाई सात लाख बीस हजार रुपैयाँको ४८ सेट मौरी सामग्री हस्तान्तरण गरिएको छ ।

संस्थाका सदस्य पुनिका सुनुवारलाई ४८ सेट तथा धनमाया पाठक (सुशिला), सम्झना चौधरी, कमला राई, हेमकुमारी लिवाङ, सन्ध्या श्रेष्ठ र मनु अधिकारीलाई ४७ सेटका दरले मौरी गोला, मौरी घार र घार स्टेण्ड प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष तथा मौरी ब्लक समितिका संयोजक धनमाया थापाको अध्यक्षता तथा प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मागरको प्रमुख आतिथ्यमा आयोजित अनुदान हस्तान्तरण कार्यक्रममा मौरीपालक किसानका बीच सार्वजनिक सुनवाई पनि गरिएको थियो ।

सो कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै ब्लक संयोजक थापाले कोभिड–१९ को संक्रमण बढ्ने सन्त्रासले सरकारले गरेको लामो लकडाउनका कारण सतासी मौरीपालन सहकारीका सदस्यहरुको मात्र ७० लाख रुपैयाँ बराबरको मौरी र मह क्षति भएको अवगत गराइन् । मौरी ब्लकमा ३२० घरपरिवारसँग ३५ सय गोला मौरी रहेका तथा गतवर्ष ६० टन मौरी उत्पादन गरिएकोमा यो वर्ष आधामात्र उत्पादन लिन सकिएको उल्लेख छ ।

यसैबीच उक्त कार्यक्रममा प्रदेश सहकारी मन्त्रालयको सिङ्गो टिम नै उपस्थित भएको अवसरमा मौरीपालक किसान एवम् संघ–संस्थाको तर्फबाट १६ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । राज्यमन्त्री रानासहित सचिव निरु पाण्डे दाहाल, मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेती, प्रदेश सांसद झलकसिंह दर्लामी मगर, कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल तिवारीको उपस्थितिमा ध्यानकर्षण पत्र दिइएको हो ।

संस्थाका व्यवस्थापक देवीकुमारी दाहालले सञ्चालन गरेको उक्त कार्यक्रममा आमन्त्रिहरुलाई फूलकुमारी चौधरीले शब्दद्वारा स्वागत गरेकी थिइन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *