डोटीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि
Published: (Updated: )
by .डोटी । आइतबार डोटीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
जिल्लाको केआईसिंह गाउँपालिका वडा नं.३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा आइतबार राति करिब ३ बजे १९ वर्षीय युवकको मुत्यु भएको थियो । भारतको लुदियानाबाट १९ गते डोटी पुगेका उनी गाउँपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टिनमा बस्दै आएका थिए ।
उनको मृत्युपछि आरटी-पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी सुदूरपश्चिम प्रदेश प्रयोगशाला धनगढी पठाइएको थियो । सोमबार आएको परीक्षणको नतिजा नेगेटिभ रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
मृत्यु भएका युवक लामो समयदेखि मुटुको रोगी रहेको र उपचारकै क्रममा भारत गएर फर्केको बुझिएको छ ।
उक्त क्वारेन्टिनमा उनीसँगै बसेका १० जना छन् । जसमा तीन महिला छन् । उनीहरुको पनि पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
‘मृतकको स्वाबको नतिजा नेगेटिभ आएको छ,’ मलासीले भने, ‘उनीसँगै उक्त क्वारेन्टिनमा रहेका अन्य १० जनाको पनि स्वाब संकलन पठाइएको थियो । उहाँहरूको रिपोर्ट आएको छैन ।’
स्रोत : अनलाइनखबर
Comments