Sajhamanch Archive

बिर्तामोडको सिम्रिक साकोस र दमकको चेतनशील साकोसबीच एकीकरण घोषणा, एकीकरण पछि पनि सिम्रिक साकोस नै नामाकरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, सहकारी by .

दमक । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमक नगरपालिका वडा नं. ६ मा स्थापित चेतनशील बचत तथा ऋण सहकारी संस्थाबीच सोमबार (आज) एकीकरण भएको छ । सहकारी एकीकरण गर्न राज्यले दिएको अवसरलाई आत्मसात गरी सोमबार पत्रकार सम्मेलनमार्फत् दुई सहकारीबीच एकीकरण भएको घोषणा गरिएको हो ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतलाई चेतनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर योगीले वैशाख मसान्तसम्मको कारोबारसहितको वासलात हस्तान्तरण गरी दुई सहकारीबीच औपचारिक एकीकरण भएको घोषणा गरिएको हो । एकीकरण घोषणाका लागि आयोजित पत्रकार सम्मेलन सिम्रिकका अध्यक्ष बस्नेत र चेतनशीलका अध्यक्ष योगीको संयुक्त अध्यक्षतामा गरिएको थियो ।

सिम्रिकका अध्यक्ष बस्नेतले एकीकरणको औचित्य प्रष्ट्याउँदै सरकारले ल्याएको सहकारी एकीकरणको नीतिलाई आत्मसात गर्न दुवै सहकारी संस्थाको उद्देश्य एउटै भएकाले सम्भव भएको बताए । दुई सहकारीबीच एकीकरण गरेसँगै अब उप्रान्त सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट दमकमा कारोबार गरिने अध्यक्ष बस्नेतले प्रष्ट पारे ।

अध्यक्ष बस्नेतले गत जेठ १ गतेबाट दुवै सहकारीबीच एकीकृत कारोबार भइरहेको बताए । अहिले कार्यालयगत समिति गठन, कर्मचारी ब्यवस्थापन लगायतका काम भइरहेको र सहकारी विभागबाट स्वीकृति आउन बाँकी भएको बताए । बिगत २२ वर्षको अवधिमा धेरै सहकारीहरु स्थापना भई अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको अवस्थालाई मध्यनजर गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न दुई सहकारी एक भएको अध्यक्ष बस्नेतको भनाई छ ।

सिम्रिक साकोसले अब दमकमा सेवाकेन्द्र सञ्चालन गरेर सदस्यहरु माझ कारोबार गर्नेछ । २० लाख ५५ हजार रुपैयाँ शेयर पुँजीबाट कारोबार शुरु गरेको सिम्रिकले अहिले एक अर्ब १८ करोड रुपैयाँको वासलात बनाउन सफल भएको अध्यक्ष बस्नेतले बताए । उनले जिल्लाका १७ वटा स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर २४ हजार ५६५ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको जानकारी दिए । चेतनशीलबाट एक हजार ६८ शेयर सदस्यहरु थपिएका छन् ।

शेयर सदस्यहरुले जीवनका अनेकन सुखदुःखका क्षणहरुमा सिम्रिकको न्यानो साथ पाएको बताउँदै अध्यक्ष बस्नेतले स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा लगायतको सेवा सुविधा शेयर सदस्यहरुलाई प्रदान गरिँदै आएको जानकारी दिए ।

कार्यक्रममा चेतनशीलका अध्यक्ष योगीले आफ्नो संस्था २०६८ साल भदौ २९ गते दर्ता भई सञ्चालनमा रहेको बताउँदै दुई लाख ५० हजार शेयर पुँजीबाट कारोबार शुरु गरी अहिले २ करोड दुई लाख २८ हजार ९३१ रुपैयाँको वासलात पुर्याएको बताए । उनले संस्था एकीकरण भएसँगै अझ मजवुत बनेर शेयर सदस्यलाई वित्तीय सेवा प्रवाह गरिने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *