Sajhamanch Archive

मापदण्डका आधारमा बजार खोल्न दिनुपर्ने बिर्तामोड नगरपालिकामा गठित कार्यदलको सुझाव

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । लक डाउनका बीच व्यापार व्यवसाय सहज बनाउने विषयमा बिर्तामोड नगरपालिकाले गठन गरेको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ । नगरपालिका कार्यालय पुगेर कार्यदलले उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई प्रतिवेदन बुझाएको हो ।

बिर्तामोड नगरपालिकाले उद्योग व्यवसाय सञ्चालन गर्दा हुने समस्या तथा कठिनाई र समाधानका उपाय पहिल्याउने गरी वडा नम्वर ५ का अध्यक्ष राजेन्द्रकुमार लिङदेनको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई सदस्य छन् ।

कार्यदलका सदस्य सुवास भट्टराईले सरोकारवालासँग गरिएको छलफल र सुझाव समेतका आधारमा व्यापार व्यवसाय सहज हुने गरी कार्यदलले नगरपालिकालाई सुझावसहितको प्रतिवेदन बुझाएको बताए । ‘कार्यदलले बैक तथा वित्तिय संस्थालाई पूर्ववत सञ्चालन गर्न दिन सुझाएको छ’, सदस्य भट्टराईले भने ।

कार्यदलले संघीय सरकारले सूचीकृत गरेका सिनेमा हल, जिमखाना, होटल तथा रेष्टुरेन्ट, सैलुनबाहेकका व्यापार व्यवसाय नियमित सञ्चालन गर्न पाउने गरी विहान ७ देखि १२ बजेसम्मको समय तोक्नु पर्ने पनि सुझाव दिएको छ ।

कार्यदलले बिर्तामोडमा खाली रहेका सरकारी भवनको पहिचान गरी आइसोलेसन वार्डसहित ५०० वेड क्षमताको विशेष अस्पताल बनाउन पनि सुझाव दिएको छ ।

बिर्तामोड भित्रका अटो रिक्सालाई जोर विजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने गरी कार्यदलले नगरपालिकालाई सुझाव दिएको कार्यदलका सदस्य विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

‘मास्क, सेनिटाइजर र समाजिक दूरी कायम गर्दै तोकिएको मापदण्ड र परिधिका आधारमा व्यवसाय सञ्चालनका लागि वातावरण बनाउन सुझाव दिएका छौँ’, अध्यक्ष भट्टराईले भने । तोकिएको मापदण्ड पूरा भए नभएको अनुगमन गर्न नगरस्तरीय अनुगमन समिति गठन गर्न पनि कार्यदलले सुझाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *