Sajhamanch Archive

लक्षण नभएका मानिसको नमूना पठाए पनि प्रयोगशालाले परीक्षण नगर्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, समाज, स्वास्थ्य by .

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब लक्षणविहीन मानिसको नमूना आए पनि परीक्षण नगर्ने जनाएको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ परीक्षण सम्बन्धी नयाँ निर्देशिका अनुसार अब संक्रमितसँगको सम्पर्कमा आएका र लक्षण भएकाहरूको स्वाब आएमात्र परीक्षण गरिने प्रयोगशालाकी निर्देशक डा. रूना झाले जानकारी दिइन्।

उनले धेरै मात्रामा अनावश्यक नमूना आएको र प्रयोगशालाले धान्न नसक्ने भन्दै सबैलाई निर्देशिका अनुसार नमूना पठाउन आव्हान गरेको बताइन्। ‘मन्त्रालयले एउटा निर्देशिका बनाउने र स्थानीय तहले त्यसलाई नमान्ने हो भने हामीले परीक्षण धान्न सक्दैनौं,’ उनले भनिन्।

निर्देशक झाले जिल्लाहरूबाट सिडिओ र एसपीले जसको भन्यो उसैको नमूना पठाउँदा प्रयोगशालाले धान्न नसक्ने स्थिति रहेको सुनाइन्। उनले हिजोसम्म आएको नमूनाको परीक्षण गरिने भएपनि अब निर्देशिका अनुसार आएका नमूनाहरूको मात्र परीक्षण गरिने बताइन्।

प्रयोगशालामा धेरै प्रदेश २ बाट पिसिआर परीक्षणको लागि नमूना आइरहेको छ। उनका अनुसार रौतहटबाट मात्रै दैनिक २ हजार बढी नमूना आइरहेको छ। जबकी प्रयोगशालाको दैनिक क्षमता एक हजार जनाको परीक्षण गर्ने हो।

अहिले देशभर रहेका २१ वटा प्रयोगशालाहरूले परीक्षण धान्न सकेको छैन। सुदूरपश्चिम प्रदेशमा गत बिहीबार देखि नै पाँच दिनको लागि स्वाब संकलन कार्य नै बन्द गरिएको छ।

प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि मन्त्रालयले परीक्षण नै कडाइ गर्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। निर्देशिकाले जोखिममा रहेका र ज्वरो मात्र आएका विरामीको पनि परीक्षण गर्नु अनिवार्य भनेको छैन। जसले गर्दा संक्रमण झन् फैलिने विज्ञहरूको दाबी छ।

सरकारले भारतबाट आएर क्वारेन्टिनमा रहेका व्यक्तिहरूको पनि लक्षण देखिए मात्र पिसिआर परीक्षण गर्ने भनेको छ। तर कोरोनाको अधिकांश संक्रमितहरूमा लक्षण नदेखिने अध्ययनहरुले नै देखाएको छ। सोही कारण विज्ञहरूले नयाँ निर्देशिकाले संक्रमणलाई समुदायस्तरमै लाने चेतावनी दिँदै आएका छन्।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *