Sajhamanch Archive

लकडाउनमा ६७ बालबालिकाको उद्धार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट दुई दर्जन बढी बालबालिकाको उद्धार गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा ज्येठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चाबहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो।

लकडाउनका बेला सामाजिक सञ्जालहरूमा काठमाडौंको विभिन्न स्थानमा सडक बालबालिका बेवारिसे अवस्थामा भेटिएको उल्लेख भएलगत्तै उनीहरूको तत्काल उद्धार गरी व्यवस्थापन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिषदलाई निर्देशन दिएका थिए।

बालबालिका खोजतलास समन्वय केन्द्रसँगको समन्वयमा ठमेल क्षेत्रबाट १७ जना, पुरानो बसपार्कबाट ३ जना, चाबहिल चुच्चेपाटीबाट ५ जनाको उद्धार परी पुनर्स्थापना केन्द्रमा संरक्षणको उचित व्यवस्था मिलाइएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए।

उद्धार गरिएका सबै बालिबालिकाहरूको कोरोना परीक्षणको पनि व्यवस्था मिलाइएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए।

केन्द्रका डिएसपी रमेशबहादुर सिंहका अनुसार लकडाउनका बेला बालबालिका सडकमा आउन नदिन उच्च सतर्कता अपनाइएको छ।

काठमाडौं उपत्यकाभित्र ३५ जना र उपत्यका बाहिर ३२ जना गरी ६७ जना सडक बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ। सरकारले २०७३ साल वैशाखबाट ‘सडकमुक्त बालबालिका’ अभियान अन्तर्गत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम सुरू गरेको हो।

हालसम्म १२६८ बालक र १९० जना बालिका गरी १४७६ जनाको उद्धार गरी संरक्षणको उचित व्यवस्था मिलाइएको पनि परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए।

यसैबीच, मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोज तलास समन्वय केन्द्रको निःशुल्क हटलाइन सेवा १०४ मा सम्पर्क गरी उनीहरूको उद्धार र संरक्षणका लागि आवश्यक सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।

स्रोत  : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *