Sajhamanch Archive

सीमाका २२१ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्दैछौं : गृहमन्त्री थापा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारत र चीनको सीमामा २२१ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाको काम अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सीमा सुरक्षा व्यवस्थापनका लागि पाँच सय स्थानमा बीओपी स्थापना गर्ने लक्ष्य राखिएको बताए ।

पहिलो चरणमा २२१ स्थानमा बीओपी स्थापनाको काम अगाडि बढिरहेको उनले जानकारी दिए । दार्चुलाको छाङ्ग्रु र हुम्लाको हिल्सामा समेत गरी १२९ स्थानमा बीओपी स्थापना भइसकेको उनले बताए । ५९ स्थानमा बीओपीको स्थायी संरचना बनाउनका लागि बजेट छुट्याइएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

कोरोना रोकथामका लागि १२ सय १३ स्थानमा बीओपी स्थापना गरिएको गृहमन्त्री थापाले जनाए । नेपाल आएका नागरिकलाई घरसम्म पु¥याउन स्थानीय प्रशासनले भूमिका खेलिरहेको पनि उनको भनाइ थियो ।

त्यस्तै, उनले गाँजा खेती खुला गर्नुपर्ने भन्दै केही सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै गाँजासम्बन्धी सरकारको नीति यथावत् रहेको बताए । “सदनमा रहेको गाँजासम्बन्धी विधेयक दर्ता भएको छ । संसदको निर्णय सरकारले सम्मान गर्नेछ,” उनले भने ।

विपत् व्यवस्थापनको सहजीकरणका लागि प्राधिकरण गठन भएर कामअघि बढेको पनि उनले बताए । लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । लागुऔषध नियन्त्रणमा समुदायलाई नै अग्रसर बनाउन बजेट व्यवस्था गरिएको पनि बताए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *