मेची अस्पताललाई प्रदेश सरकारले छुट्याएन बजेट
Published: (Updated: )
by .झापा । प्रदेश नं. १ को एक मात्र प्रादेशिक अस्पताल कहलिएको भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई प्रदेश सरकारले यस आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन ।
पुराना उपकरण, जीर्ण भवन तथा पर्याप्त विशेषज्ञ सेवा दिन नसकिरहेको अस्पतालको विकासका लागि प्रदेश सरकारले वजेटमार्फत सुधार गर्ने गरी जनचाहना अनुसार सम्बोधन हुने कार्यक्रम ल्याएको छैन । प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा प्रादेशिक अस्पतालको उन्नति हुने कार्यक्रम नभएपछि यस क्षेत्रका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।
झापा क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सदस्य बसन्तकुमार बानियाँले अञ्चल अस्पतालको उन्नतिका लागि बजेट विनियोजन नगरेकोमा असन्तुष्टि जनाएका छन् । सांसद बानियाँले मेची अञ्चलकै ठूलो अस्पताल भएका कारण बिरामीको चाँप रहने हुँदा पूर्वाधार, प्रविधि लगायत आवश्यकीय विकासका लागि बजेट आउनुपर्ने भए पनि प्रदेश सरकारको उपेक्षामा परेको बताए ।
सांसद रहेका बानियाको क्षेत्रमा पर्ने किच्चकबध, कचनकवल जस्ता धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासका लागि समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको छैन । समानुपातिक सांसद ओमप्रकाश सरावगीलेले समेत दक्षिण झापाको उन्नति हुने काममा प्रदेश सरकारले चासो नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सांसद सरावगीले दक्षिण झापाको उन्नतिको आधारका रूपमा रहेको अञ्चल अस्पतालको व्यवस्थापन पक्ष कमजोर रहेकै कारण भौतिक पूर्वाधार समेत लथालिङ रहेकोले सुधारका लागि वजेट आवश्यक पर्ने बताए । विपन्नहरू बाक्लो बस्ती समेत रहेको झापा क्षेत्र नम्बर ३ विकास निर्माणका दृष्टिले पछाडि परेको क्षेत्र हो । यो क्षेत्र राज्यको उपेक्षामा पर्ने गरेकै कारण भौतिक पूर्वाधारमा पछाडि परेको छ ।
यसैबीच, संघीय सरकार मातहतमा रहेको मेची अञ्चल अस्पतालको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारमा सरेपछि अस्पतालको स्तरउन्नतिका कार्यहरू बन्द भएको अवस्था छ भने अस्पतालका अधिकांश विशेषज्ञ डाक्टर तथा प्राविधिक कर्मचारी निजी क्लिनिक केन्द्रीत भएको दुखेसो सेवाग्राहीले गर्ने गरेका छन् ।
Comments