संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने
Published: (Updated: )
by .काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो।
मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई आधार मानिएको छ। योजनामा सामान्य (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) केसका आधारमा प्रतिदिन प्रतिव्यक्ति लाग्ने खर्च अनुमान गरिएको हो।
योजना अनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ। मध्यम केसमा प्रतिदिन १० हजारदेखि करिब २४ हजार लाग्ने अनुमान छ। त्यस्तै गम्भीर अवस्थाका संक्रमितको केसमा प्रतिदिन १९ हजारदेखि ३८ हजार रुपैयाँसम्म उपचार खर्च लाग्ने अनुमान गरिएको छ। यो रकम जनशक्ति, खाद्यान्न र पिपिई जोडेर हो।
सामान्य अवस्थाको संक्रमितको उपचारको हकमा जनशक्ति, खाद्यान्न र पिपिईको पहिला नै व्यवस्था भइसकेको रहेछ भने ६ हजार ५२ रूपैयाँमा प्रतिव्यक्ति प्रतिदिन उपचार गर्न सकिनेछ। जनशक्ति पहिला नै व्यवस्थापन भइसकेको र खाद्यान्न र पिपिईमा मात्र खर्च गर्नुपरेको अवस्थामा १३ हजार दुई सय ३१ रूपैयाँमा प्रतिदिन प्रतिव्यक्ति उपचार हुने अनुमानित लागत निकालिएको छ। खाद्यान्नको व्यवस्थापन पहिला नै भइसकेको तर जनशक्ति र पिपिईमा खर्च गर्नुपर्ने अवस्थामा आएमा १२ हजार पाँच सय ९३ रूपैयाँ लाग्नेछ। त्यस्तै पिपिईको किन्नु नपर्ने अवस्थामा जनशक्ति र खाद्यान्नका लागि नौ हजार तीन सय ३९ रूपैयाँ लाग्ने अनुमान छ।
योजना अनुसार मध्यम अवस्थाका संक्रमितको उपचारको हकमा जनशक्ति, खाद्यान्न र पिपिई सेटसहितको खर्च गर्नुपर्ने अवस्थामा २३ हजार नौ सय ९३ रूपैयाँ लाग्नेछ। जनशक्ति पहिला नै व्यवस्थापन भइसकेको अवस्थामा मध्यम प्रकारका संक्रमितको उपचारमा खाद्यान्न र पिपिईका लागि २० हजार ६ सय ९५ लाग्नेछ। त्यस्तै खाद्यान्नबाहेक पिपिई र जनशक्तिमा मात्र खर्च गर्ने हो भने २२ हजार तीन सय ८० रूपैयाँ लाग्ने उल्लेख छ। पिपिईमा खर्च गर्नुनपर्ने र जनशक्ति र खाद्यान्नमा मात्र खर्च गर्ने हो भने १५ हजार ७६ रूपैयाँमा नै उपचार सम्भव हुने स्वास्थ्यको अनुमान छ। मध्यम अवस्थाको संक्रमितको उपचारका लागि जनशक्ति, खाद्यान्न र पिपिई सेटमा खर्च गर्नुनपर्ने अवस्थामा १० हजार एक सय ६६ रूपैयाँ खर्च हुने अनुमान छ।
गम्भीर प्रकृतिका संक्रमितको उपचारमा पिपिई सेट, खाद्यान्न र जनशक्तिसहित हिसाब गर्दा प्रतिव्यक्ति प्रतिदिन ३८ हजार एक सय १८ रूपैयाँ उपचार खर्च लाग्ने अनुमान छ। जनशक्तिबाहेक खाद्यान्न र पिपिई सेटमा खर्च गर्ने हो भने ३२ हजार आठ सय २५ र खाद्यान्नबाहेक जनशक्ति र पिपिईमा खर्च गर्नुपरेमा ३७ हजार ८३ रूपैयाँ लाग्नेछ। त्यस्तै पिपिई सेटमा खर्च गर्नुनपर्ने अवस्थामा गम्भीर अवस्थाका बिरामीलाई खाद्यान्न र जनशक्तिको व्यवस्थापन गर्न २६ हजार एक सय १८ रूपैयाँ लाग्ने अनुमान छ।
जनशक्ति, खाद्यान्न र पिपिई सेटमा खर्च गर्नु नपर्ने अवस्थामा भने गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि १९ हजार सात सय ९० रूपैयाँ लाग्ने स्वास्थ्यले तयार पारेको सो योजनामा उल्लेख छ।
सामान्य अवस्थाका संक्रमितको उपचारको हकमा जनशक्तिका लागि एक हजार दुई सय ७५, खानाका लागि दुई हजार १३ पिपिईका लागि पाँच हजार एक सय ६७ रूपैयाँ प्रतिदिन खर्च लाग्ने अनुमान छ। त्यस्तै मध्यम प्रकृतिका संक्रमितको उपचारका लागि जनशक्तिमा तीन हजार दुई सय ९८, खानामा एक हजार ६ सय १३ र पिपिईमा आठ हजार नौ सय १७ रूपैयाँ लाग्ने अनुमान छ। गम्भीर प्रकृतिका संक्रमितको उपचार गर्दा जनशक्तिमा पाँच हजार दुई सय १३ रूपैयाँ, खानामा एक हजार ३५ र पिपिईमा १२ हजार लाग्ने आकलन छ।
स्वास्थ्य मन्त्रालय अनुगमन तथा गुणस्तर महाशाखा प्रमुख डा. विकास देवकोटा कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान अन्तर्राष्ट्रिय अभ्यास र विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा बनाइएको बताउँछन्।
स्रोत : नागरिक दैनिक
Comments