Sajhamanch Archive

उच्च मागको बेलामा बन्द भयो आईफ्लिक्स

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि नेपालका सिनेमा हलहरु बन्द छन् । यो अवस्था अझै कहिलेसम्म रहने हो अन्योलको स्थिति छ । सरकारले तीन चरणमा लकडाउन खोल्ने योजना बनाए पनि फिल्म क्षेत्रले कोरोनाको असर झण्डै एक वर्षसम्म बेहोर्नु पर्ने देखिन्छ । किनकि, तत्काल दर्शक हलमा फिल्म हेर्न आउने स्थिति छैन ।

लकडाउन खुलेको ६ महिनासम्म हलमा फिल्म प्रदर्शन गर्ने वातावरण नदेखेपछि अहिले नेपाली निर्माताहरु ओटीटी प्लेटफर्म रोज्न थालेका छन् । लकडाउनकै समयमा फिल्म ‘कोपिला’ हलभन्दा अगाडि टिभीमा रिलिज भयो । शुक्रवारबाट अर्को फ्रेस फिल्म ‘हिरो रिर्टन्स’ पनि टिभीमा रिलिज हुँदैछ । अन्य फिल्मका निर्माताहरु पनि डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गर्ने सोचमा छन् ।

कोरोनाका कारण जारी लकडाउनले सिनेमा हल बन्द भएपछि फिल्म रिलिजका लागि ओटीटी प्लेटफर्म निर्माताको रोजाइमा परेको अवस्थामा एनसेलले भने आफ्नो भिडियो सेवा अन्तर्गतको आईफ्लिक्स सेवा बन्द गरेको छ । यही जेठ २४ देखि आईफ्लिक्स सेवा नेपालमा बन्द भएको हो । एनसेलले एक सूचना जारी गर्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न २०७५ सालमा एनसेलले आइफ्लिक्ससँग सहकार्य गरेको थियो । यसमा ‘जात्रै जात्रा’, ‘यात्रा’, ‘प्रसाद’, ‘क्याप्टेन’, ‘छक्का पञ्जा २’, ‘कबड्डी कबड्डी कबड्डी’ लगायत थुप्रै नेपाली फिल्म रिलिज भैसकेका छन् । नेपाली दर्शकलाई लक्षित गरेर एनसेलले आईफ्लिक्सका लागि नेपाली निर्माताबाट महँगोमा फिल्म खरिद गर्ने गरेको थियो ।

नेपाली दर्शकमाझ छोटो समयमा लोकप्रिय बनेको आइफ्लिक्स बन्द भएपछि नेपाली फिल्मका लागि एउटा बलियो ओटीटी प्लेटफर्म गुमेको छ । यसलाई फिल्मकर्मीहरुले ठूलो क्षतिको रुपमा लिएका छन् । एनसेलले अन्तराष्ट्रिय भिडियो अन डिमान्ड सर्भिस आइफ्लिक्स नेपालमा बन्द गर्नुको कारण खुलाएको छैन । न त पुनः सुचारु हुने विषयमा नै कुनै जानकारी दिएको छ ।

स्रोत : फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *