Sajhamanch Archive

अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

पोखरा । मणिपाल शिक्षण अस्पताल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनाबाट घाइते भएपछि एक साता अघि अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना पोजेटिभ देखिएको हो ।

संक्तमित व्यक्ति कुश्मा–३ का हुन् । कुनै ट्राभल हिस्ट्री नभएको र दुर्घटना लगत्तै ती व्यक्ति उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

‘दुर्घटनामा उहाँको हात र टाउकोमा चोट लागेको छ, उपचारकै क्रममा कोरोना पाजेटिभ देखिएछ,’ उनले भने, ‘अस्पतालबाटै उनमा संक्रमण फैलिएको हुनसक्छ ।’

मेयर जोशीले ती संक्रमित व्यक्तिको कुश्मामा पनि बाहिरी सम्पर्क नभएको र दुर्घटनापछि सिधैं अस्पताल गएकाले अस्पतालबाटै सरेको दाबी गरेका छन् । उनी अहिले अस्पतालको ‘न्यूरो’ शाखाको आइसियूमा छन् ।

‘उनको शल्यक्रिया गर्ने कुरा थियो । अब कोरोना पोजेटिभ देखिएपछि त्यो पनि प्रभावित हुने भयो । अब अस्पताललाई नै अलि निगरानीमा राख्नुपर्ने भयो,’ उनले भने ।

केही दिनअघि पोखरामा ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । पोखरा ८ का ती व्यक्तिको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

तर, उनको समेत ट्राभल हिस्ट्री नभएका कारणले संक्रमणको स्रोत अझै पत्ता लाग्न सकेको छैन ।

खोजी गर्दैछौं : स्वास्थ्य निर्देशनालय

गण्डकी स्वास्थ्य निर्देशनालयले संक्रमणको स्रोत खोज्न थालिएको जनाएको छ ।

निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले भने, ‘राति १२ बजे रिपोर्ट आइसकेपछि नै हाम्रो टोली तयार भइसकेको छ । अब जिल्लाको आइसोलेसनमा ल्याउने कि गर्ने भन्नेबारे सल्लाह भइरहेको छ ।’

स्रोत  : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *