Sajhamanch Archive

कोरोना रोकथाम उच्चस्तरीय समिति निष्क्रिय, सीसीएमसीलाई ब्यारेकबाट सिंहदरबार सारियो

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएर कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई शक्तिशाली बनाएको छ । दुवै संयन्त्रको नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलले नै गरेका थिए ।

मन्त्रिपरिषदमा केही मन्त्रीले कोभिड १९ विरुद्धको लडाइँमा धेरै संयन्त्र खडा गर्दा काममा अलमल भएको भन्दै एउटै संयन्त्रबाट काम गर्न उपयुक्त हुने बताएका थिए । मन्त्रिपरिषदको पछिल्लो बैठकले सीसीएमसीमा चारजना मन्त्री थपेर सोही संयन्त्रलाई बलियो बनाएको हो ।

सीसीएमसीमा कृषिमन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुन थपिएका छन् । यसअघि उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामवहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा.युवराज खतिवडा थिए ।

सीसीएमसीको कार्यालय छाउनीस्थित नेपाली सेनाको रेन्जर गणमा राखिएको थियो । अहिलेसम्मका बैठक ब्यारेकमै भइरहेका थिए । शुक्रबार पहिलो पटक सीसीएमसी निर्देशक समितिको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको छ ।

घनश्याम भुसाल लगायत केही मन्त्रीले मन्त्रिपरिषद बैठकमा सैनिक ब्यारेकमा बैठक बस्नु ठीक नहुने बताएका थिए ।

एक मन्त्रीले भने, रेञ्जर गणमा मन्त्रीहरु गएर बैठक बस्नु राम्रो नहुने र नागरिक कमाण्डमै हुनुपर्ने कुरा मन्त्रिपरिषदमा पनि उठ्यो । त्यसैले आजको बैठक नागरिक सर्बोच्चतामै हुने भनेर सूचना आयो । सेनालाई सरकारले नीतिगत निर्देशन दिने हो र सहयोग लिने हो, तर ब्यारेकमा बैठक बस्नुहुँदैन ।

ब्यारेकमा बैठक राखिए मन्त्री सहभागी नहुनेसम्मका कुरा आएपछि शुक्रबार सीसीएमसीका सदस्यहरुलाई प्रधानमन्त्री कार्यालयमै बैठक राखिएको सूचना पठाइएको थियो । सीसीएमसीमै उच्चस्तरीय समन्वय समितिका मन्त्रीहरु राखिएपछि अब उच्चस्तरीय समिति निष्क्रिय भएको छ ।

सीसीएमसीमा सेना हावी भएको भन्दै स्वास्थ्य मन्त्रालयले पनि असन्तुष्टि जनाइरहेको थियो । स्वास्थ्य संकटकाल लगाउने लगायतका मन्त्रालयका कतिपय प्रस्तावहरु सीसीएमसीमा पुगेर अश्वीकृत भएका थिए । पछिल्लो समय उच्चस्तरीय समन्वय समिति भन्दा सीसीएमसीबाटै निर्णय हुने गरेका थिए ।

सीसीएमसी मार्फत नै अब योजनाहरु बन्ने र कार्यान्वयनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरी काम भइरहेको छ । यसअघि सीसीएमसीले प्रस्ताव गरे अनुसार नै सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने तथा लकडाउन खुकुलो बनाउने मोडालिटी पारित भएको हो ।

सीसीएमसीको सचिवालयमा प्रधान सेनापति पूर्णचन्द्र थापा छन् । सेनाले संकट व्यवस्थापनमा सरकारको निर्देशनअनुसार सघाउने र प्राविधिक कामको नेतृत्व गरिरहेको छ । प्रधानमन्त्रीले छाउनीमै पुगेर केही दिनअघि ३ घण्टासम्म ब्रिफिङ लिएपछि विदेशबाट ल्याइने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटाउने निर्णय सरकारले गरेको थियो ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *