Sajhamanch Archive

घरमा सँगै बस्न, सुत्न हुने तर बाइकमा सँगै बसेर हिँड्न नहुने, यो कस्तो नियम हो सरकार ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै सवारी आवागमन पनि केही सहज बनाएको छ। निजी सवारीसाधन जोर–बिजोर नम्बरका आधारमा चलाउन दिने निर्णय भए पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय भएको छैन।

कोरोना संक्रमण फैलिन नदिन भन्दै सरकारले निजी सवारीसाधन सञ्चालनमा तोकेको जोर–बिजोरसहितको मापदण्डको भने आलोचना भएको छ। त्यसमा पनि दुई पांग्रे मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने नियम लागु गरेका प्रति कडा विरोध भएको छ।

कोरोना संक्रमितको संख्या बढे पनि तीन दिनयता सरकारले लकडाउन खुकुलो बनाएको छ। सहरका पसलमा भीड बढेको छ। तरकारी पसलमा पनि सर्वसाधारणको उस्तै भीड देखिन्छ। बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको बाक्लो उपस्थिति छ। यसतर्फ सरकारको ध्यान पुगेको छैन। तर सरकारले भीड हुने भन्दै मोटरसाइकलमा भने दुईजना चढ्न नदिने निर्णय गरेको छ। यसको चर्को आलोचना भइरहेको छ। ‘निर्णय पनि कस्ता कस्ता हुँदा रहेछन्, अरुतिर जति भीड भए पनि हुने तर मोटरसाइकलमा आफन्त बोकेर हिँड्न नहुने,’ यातायातकर्मी रामबहादुर थापाले भने, ‘यो नियमले सरकारकै बेइज्जत गरेको छ। ’

यो निर्णयलाई लिएर सामाजिक सञ्जालमा पनि सरकारको व्यापक आलोचना गरिएको छ। ‘निजी गाडीमा घरको मान्छे मात्रै चढ्छन्, घरमा सँगै बस्न, सुत्न हुने तर बाइकमा सँगै बसेर हिँड्न नहुने, यो कस्तो नियम हो सरकार भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

यो निर्णय सरकारी कर्मचारीलाई पनि मन परेको छैन। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले माथिल्लो निकायले गरेको निर्णय सच्याउन नमिल्ने बताए। उनले यति सामान्य कुरामा निर्णय गर्दा ख्याल नराख्दा अहिले गुनासा आइरहेको बताए। ‘यस्तो नियम हामीलाई पनि मन परेको छैन तर माथिल्लो निकायले गरेको निर्णयलाई हामीले बदर गर्न मिल्दैन,’ उनले भने।

घरमा सँगै बस्ने तर मोटरसाइकलमा यात्रा गर्दा सँगै बस्न नपाउने सरकारको निर्णय आउनुमा केहीले ट्राफिक प्रहरीलाई दोष लगाएका छन्। प्रहरीले नै यस्तो नियम लागु गरेको भन्दै कतिपयले सडकमै विरोध जनाइरहेका छन्। तर, माथिल्लो निकायको आदेशलाई कार्यान्वयन गराउन कडाइ गरिएको महानगरी ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले बताए। ‘सर्वसाधारणले हामीलाई सताइरहेका छन्, हामीले त सरकारको आदेश पालना गर्नैपर्ने हुन्छ,’ उनले भने। उनका अनुसार शुक्रबार दुईजना चढेर हिँडेका ८५ वटा मोटरसाइकललाई उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि छाडेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *