Sajhamanch Archive

धरान नगरको प्रमुख अब को  ?

Published: in प्रदेश तह by .

सुनसरी । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन ।

तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो ।

नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ ।

नेकपाका जिल्ला संयोजक रमेश बस्नेतले भने, ‘अहिले खासै तयारी छैन । नगर प्रमुख तारा सुब्बाको देहान्तको शोक अझै छ, निर्वाचन आयोगले तयारी नगरेसम्म पार्टीमा कुनै चर्चा नगर्ने निर्णय भएको छ ।’

कांग्रेसबाट जिल्ला सचिव सुजेन्द्र तामाङ, नगर सभापति तिलक राई, पूर्वनगर सभापति किशोर राईको चर्चा चल्न थालेको छ । गत स्थानीय तहको चुनावमा कुल मतदाता ७९ हजार ८ सय १२ मतमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।

उक्त चुनावमा तत्कालीन एमालेले २० हजार ९ सय ७५, संघीय समाजवादी फोरमलाई उपमेयर दिएर गठबन्धन गरेको कांग्रेसले १६ हजार १ सय २ र माओवादी केन्द्रले ११ हजार १ सय ८० मत प्राप्त गरेको थियो ।

निर्वाचन आयोगको नियमावलीमा ‘स्थानीय तहको प्रमुख, उपप्रमुखले राजीनामा दिए, देहान्त भएमा उपनिर्वाचन गर्न सक्ने छ’ भनिएको तर निर्वाचन हुनेछ नभनिएकाले निर्वाचन नै हुन्छ हुँदैन यकिन भन्न नसकिने अवस्था रहेको जिल्ला निर्वाचन आयोगका प्रवक्ता शान्तिबहादुर अधिकारीले बताए ।

उनले भने, ‘अरू स्थानीय तहको पनि उपनिर्वाचन गर्नुपर्ने होला । सरकारले जे निर्देशन दिन्छ सोहीअनुसार तयारी गर्ने हो । निर्वाचनका लागि सरकारले समन्वय गर्नुपर्छ । आयोगले मात्र गरेर हुँदैन ।’

उनले उपनिर्वाचन चाँडो गर्न स्थानीय तहले नै सरकारलाई दबाब दिनुपर्ने बताए ।

कान्तिपुरखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *