Sajhamanch Archive

पिसिआर प्रयोगशालाका लागि सहकारी अभियानको २५ लाख प्रतिवद्धता, आजै सात लाख १२ हजार जुट्यो

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by .

झापा । जनस्तरबाट झापामा निमाण गर्न लागिएको कोरोना संक्रमणको पिसिआर परीक्षण प्रयोगशालाका लागि सहकारी अभियानको तर्फबाट २५ लाख रुपैयाँ जुटाउने प्रतिवद्धता गरिएको छ । आज आइतबार झापा जिल्ला सहकारी संघले चारपानेमा पत्रकार सम्मेलन गरी कोभिड १९ को संक्रमण भए नभएको परीक्षण गर्ने प्रयोगशाला द्रुतगतिबाट निर्माणमा सहयोग पुर्याउन यस्तो घोषणा गरेको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले झापामा पिसिआर प्रयोगशालाको खाँचो औँल्याउँदै आर्थिक सहयोगका लागि जिल्लाका सबै सहकारी संस्थालाई अपील पनि गरेका छन् । प्रयोगशाला निर्माणका लागि राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैँक र झापा जिल्ला सहकारी संघले एक लाख एक हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा जनाइएको छ ।

‘एकका लागि एक’ अभियानले झापामा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेपछि त्यसमा ऐक्यवद्धता जनाउँदै सहकारी सङ्घले एक साताभित्र रकम जम्मा गरी हस्तान्तरण गर्ने जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा अन्तर्राष्ट्रिय झापाली समाजसमेतको सहभागितामा झापामा पिसिआर परीक्षण प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढेको हो । सामाजिक अभियान भएकाले झापाका सहकारी तथा सहकारीसँग सम्बद्ध देशभरका केन्द्रीय संघहरुलाई स्वेच्छिक रुपमा सहयोग गर्न जिल्ला संघले अपील पनि गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष रमेशप्रसाद पोखरेल, सञ्चालकहरु अमृता सुब्बा, शिवकुमार डाँगी, लेखा सुपरीवेक्षण समितिका सदस्य सोमबहादुर श्रेष्ठ, नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारी, कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मीना ढकालसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघको प्रतिवद्धतालाई कार्यान्वयन गरिने बचनवद्धता जनाइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित जिल्लाका सहकारीकर्मीहरुले जनस्तरबाट झापामा निमाण गर्न लागिएको कोरोना संक्रमणको पिसिआर परीक्षण प्रयोगशालाका लागि ‘अन द स्पट’ सात लाख १२ हजार रुपैयाँको प्रतिवद्धता जनाइसकेका छन् । रकम घोषणा कार्यक्रममा सहारा नेपाल साकोसबाट १ लाख ५ हजार, पूर्व नेपाल साकोसबाट १ लाख २ हजार, पब्लिक साकोसबाट १ लाख १ हजार र हाम्रो नेपाल साकोसबाट १ लाख १ हजार रुपैयाँ सहयोग घोषणा भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *