Sajhamanch Archive

प्रदेश १ को बजेट कर्मकाण्डी र प्रचारमुखी : कांग्रेस

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ को सरकारले ल्याएको बजेट कर्मकाण्डी र कार्यान्वयन नहुने भन्दै टिप्पणी गरेको छ ।

कांग्रेस संसदीय दलले मंगलबार बजेट र यसको कार्यान्वयन पक्षको विषयमा अर्थविदसँग भर्चुअल छलफल चलाएको छ । छलफलमा सहभागीले अर्थतन्त्र नै संकटमा परेका बेला संघीय सरकारको नीतिसँग तालमेल नहुने गरी प्रदेशले बजेट ल्याएको विज्ञले समेत टिप्पणी गरेका छन् ।

अर्थविद डा. गोविन्द पोखरेलले प्रदेश सरकारबाट आएको बजेट कार्यान्वयनमुखीभन्दा पनि प्रचारमा आधारित भएको टिप्पणी गरे । उनले भने, “लकडाउनले थिलोथिलो भएका उद्योगलाई सम्बोधन गरिएको छैन । औद्योगिक राहत र मजदुरलाई समेटिएको छैन ।” अन्य कतिय प्रदेशले खर्च कटौतीको प्रस्ताव गरे पनि प्रदेश १ ले भने नल्याएको उनको भनाइ थियो ।

अर्थविद राजु नेपालले खर्च हुनै नसक्ने बजेट ल्याएको आरोप लगाए । उनले भने, “३० अर्ब ३४ करोड मात्र खर्च हुन्छ भने किन आयो ४० प्रतिशतले बढेर भन्ने प्रश्‍न तेर्सिएको छ ।” संघीयतासँग मेल खाने गरी बजेट नआएको र माथिको सरकारसँग तालमेल नभएको नेपालको भनाइ थियो ।

उनले प्रदेश १ सरकारको बजेटमा आगामी आर्थिक वृद्धिदर कति हुन्छ भन्ने प्रष्ट नहुनुले बजेट आगामी वर्षको लक्ष्य हाँसिल गर्ने स्पष्ट कार्यदिशा नभएको टिप्पणी गरे । भने, “९ महिनामा आर्थिक चलायमान भयो । बन्द हड्ताल भएन । ७ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धि किन हुन सकेन रु” उनले ९५ प्रतिशत औद्योगिक करिडोर बन्द भई ५० प्रतिशत खुल्दै गरेको तर औद्योगिक क्षेत्रलाई राहत घोषणा नभएको बताए ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा.कोइराला पनि सहभागी थिए । उनले केन्द्रीय सरकार नै ऋण लिने तयारीमा रहेका बेला माथिकै सरकारको भरमा बजेट ल्याउनु अस्वाभाविक भएको बताए ।

विपक्षी देलका नेता राजीव कोइरालाले बजेट कर्मकाण्डी रुपमा आएको बताउँदै भने, “बजेटका कार्यक्रमहरु विगत झैं पूरा नहुने देखिएको छ । प्रदेशले विगतमा ल्याएको बजेटको कार्यान्वयनको अहिलेको अवस्था हेर्दै अनुमान लगाउन सकिन्छ यो बजेट पनि कुन हिसाबमा कार्यान्वयन हुन्छ भन्ने ।” उनले प्रदेश सरकारले कोरोना महामारीबीच ल्याएको बजेट प्रतिका अपेक्षा बजेटले सम्बोधन गर्न नसक्ने बताए ।

सांसद शिवनारायण सिंह गन्गाईले भौतिक पूर्वाधारमा १७ अर्ब १२ करोड बजेट छुट्याउनुले यो फेरि कार्यान्वयन हुन सक्ने अवस्थामा जाने बताउँदै भने, “कृषिमा कार्यक्रम थुप्रै छन् तर बजेट रु. ३ अर्ब ८३ करोड छुट्याएको छ । उद्योग पर्यटन, वन र वातावरणमा ३ अर्ब ४९ करोड छ । पर्यटनमा अहिले खासै केही गर्न नसकिने अवस्थामामा कति बजेट कार्यान्वयन हुन्छ ।” उनले उद्योगमा अली बढी बजेट छुट्याउनु पर्नेमा त्यसो हुन नसकेको टिप्पणी गरे ।

प्रमुख सचेतक केदार कार्कीले पूरा नहुने दस्तावेजका रुपमा बजेट २०७७/०७८ आएको बताउँदै भने, “बजेट कार्यान्वनय हुने अवस्था देखिएको छैन ।” सांसद हिमाल कार्कीले बजेटको कार्यान्वयन चुनौतीपूर्ण भएको बताए ।

सांसद नवोदिता चौधरीले प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा ल्याएका नारा राम्रो भए पनि धेरैलाई बजेटले समेट्न नसकेको बताउँदै भनिन्, “सरकारले ल्याएको बजेटले जनताको विकास चाहनालाई सम्बोधन गर्न सकेको छैन ।”

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *