Sajhamanch Archive

बेरोजगारीले बढाउँछ मानसिक रोग ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by .

खासगरी कोरोना भाइरसको सन्त्रास फैलिएसँगै थुप्रै मुलुकले यसको सुरक्षात्मक उपाय अपनाउन थाल्यो । त्यसको एउटै मात्र भरपर्दो विधी थियो, लकडाउन । अर्थात घरभित्रै बस्नुपर्ने, भिडभाड गर्न नहुने । यसले कोरोना भाइरसको फैलावटमा त केही नियन्त्रण गरेकै होला, तर लकडाउनसँगै धेरैले आफ्नो रोजगारी गुमाए । श्रमिक, मजदुरदेखि विभिन्न संघ–संस्थामा काम गर्ने, व्यापार–व्यवसायमा रोजगारी गर्नेहरुले रोजीरोटी गुमाए । रोजगारी गुमाएकै कारण एक नेपाली युवाले आफैमाथि आगो लगाएर आत्मदाह गरे ।

अहिले ठूलो श्रमशक्ति रोजगारविहिन छन् । एकातिर आयआर्जनको स्रोत ठप्प छ, अर्कोतिर महंगी बढ्ने खतरा छ । यसको कारण कति मानिस तनावमा होलान्, कतिलाई छटपटी होला, कति बेचैनी होला ?

सामान्य अनुमान गर्न सकिन्छ, अहिले बेरोजगारीकै कारण धेरैलाई मानसिक तनाव छ । चिन्ता, उदासी, छटपटीले धेरैको निद्रा विथोलिएको छ ।

वैश्विक तथ्यांकले भन्छ, प्रत्येक ४ युवामध्ये एक जना कुनै न कुनै किसिमको मानसिक समस्यामा छन् । यसो हुनुमा एउटा मात्र कारण छैन । जीवनशैलीमा आएको परिवर्तन, अभाव, प्रतिस्पर्धा, द्वन्द्व, पारिवारिक बेमेल आदि थुप्रै कारण छन् । विश्वकै आँकडा हेर्ने हो भने ५० लाख मान्छेको मनस्थिती ठीक छैन । कुन न कुनै रुपले उनीहरु मानसिक रोगले सताइएका छन् । त्यसमध्ये एक लाख कडा मानसिक रोगसँग जुधिरहेका छन् ।

किन मानसिक रोगी बढ्दैछन् ? यसमा एउटा मूल कारण देखिएको छ, बेरोजगारी । चिकित्सकहरु भन्छन्, बेरोजगारीले चरम वितृष्ण र हीनताबोध पैदा गरेको छ । यही कारण मान्छेहरु मानसिक रोगी बनिरहेका छन् । कुल मानसिक रोगीमध्ये ८० प्रतिशत त बेरोजगारी रहेको बताइन्छ । त्यस्तै ७० प्रतिशत बढीले चाहेर पनि काम पाएका छैनन् । यो विश्वको स्थिति हो ।

हामीकहाँ पनि यस्ता समस्या निकै जटिल बन्दै गएको छ । अहिले धेरैले रोजगारी गुमाएका छन् । कतिपयले रोजगारी पाएकै छैनन् । हातमा शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर जागिरका लागि भौतारिनेहरु कति छन् कति । हुन त हाम्रो शिक्षा प्रणाली व्यवहारिक, जीवनोपयोगी र प्रयोगात्मक हुन सकिरहेको छैन । त्यही कारण पढेर पनि थुप्रैले अनुत्पादक अवस्थामा छन् । न उनीहरु स्वरोजगार सिर्जना गर्न सक्छन्, न रोजगारी पाउन नै । हातमा सीप एवं दक्षता नभएकै कारण अधिकांश वेरोजगार छन् । सीप र दक्षता भएकाले पनि आफ्नो क्षमता अनुसारको काम र दाम पाएका छैनन् । यावत कुराले कामप्रतिको उदासिनता बढाउँदैछ । उदासिनताले मानसिक समस्या ।

नेपालमा मानसिक रोगीहरु बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछ । चिकित्सकहरुका अनुसार कुल मानसिक रोगीमध्ये २० प्रतिशतलाई कडा मानसिक रोग छ । उनीहरुका लागि चिकित्सकको परामर्श र औषधि सेवन नै गर्नुपर्ने अवस्था छ ।

एकातिर बेरोजगारीले मानसिक समस्या पैदा गरिरहेका छ भने अर्कोतिर रोजगारकै अवस्थमा कार्यथलोको वातावरण एवं व्यवहारले धेरैलाई मानसिक समस्यामा पारेको पाइन्छ । मनमा कुष्ठा, गुनासो बोकेर धेरैजसो कार्यथलो धाउने गर्छन् । यसरी मानसिक रुपमै तन्दुरुस्त नभई काम गर्दा काममा उनीहरुको पूर्ण लगाव र श्रम हुन पाउँदैन । अर्थात उनीहरुको क्षमता अनुरुप काम हुन सक्दैन ।

हामीकहाँ मानसिक समस्यालाई त्यती जटिल रुपमा हेरिदैन । कुनै न कुनै रुपमा मानसिक समस्या झेलिरहेपनि त्यसको समाधान वा उपचार खोजिदैन । त्यही कारण भित्र भित्रै मानसिक समस्याले जरा गाडेपछि मात्र त्यसको नतिजा देख्ने गरिन्छ ।

हामीकहाँ रोग लाग्नु भनेको शारीरिक समस्यालाई मात्र बुझिन्छ । तर, मानसिक समस्या पनि उत्तिकै जटिल र संवेदनसिल हो । उदेगलाग्दो चाहि, मानसिक समस्यालाई समस्या नै मानिदैन, जबसम्म यसले जटिल परिस्थिती ल्याउँदैन ।

वास्तवमा स्वस्थ्य जीवनका लागि शारीरीक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ रहन जरुरी छ ।

जबसम्म मानिस मानसिक रुपले स्वस्थ रहँदैन, उसले कुनै पनि हालतमा उत्पादनमुलक काम गर्न सक्दैन । उनीहरु सामाजिक तथा शरारीक रुपले पनि अस्वस्थ ठहरिन्छ । यस अर्थमा मानसिक स्वास्थ्यलाई लिएर मानिसहरुमा जुन भ्रम छ, त्यसलाई हटाउनका लागि पनि हामीमाझ छलफलको आवश्यक छ । जनचेतनाको आवश्यक छ । अन्र्तक्रियाको आवश्यक छ ।

एञ्जाइटी तथा डिप्रेसन मानसिक समस्यामध्येका प्रमुख हुन् । कुनै व्यक्तिलाई एञ्जाइटी तथा डिपे्रसन भएमा त्यसले उसको काम गर्ने खुवी तथा उत्पादनशीलतामा असर पार्ने गर्छ । एक तथ्यांक अनुसार विश्वमा मानसिक समस्यसित जोडिएका सय प्रकारका भन्दा बढी समस्या छ । जुन मनोविज्ञानसँग सम्बन्धित छ ।

व्यक्तिको सोच, भावना तथा व्यवहारले मानिसको मनोविज्ञानमा गम्भीर असर पार्ने हुदाँ यसबारे समयमै सचेत नभएको खण्डमा भविष्यमा यसले गम्भीर प्रकारका मानसिक रोग निम्त्याउन सक्छ ।

त्यसको रोकथामका लागि पनि अहिले देखि नै कार्यथलोमा हुने तनाव तथा डर कम गर्न मानसिक स्वास्थ्यबारे छलफल गर्न नितान्त आवश्यकता छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *