Sajhamanch Archive

सरकारले सुनदेखि नुनसम्म उत्खननका लागि निकाल्यो सूचना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौंं । सरकारले देशका विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिनलगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न सूचना आह्वान गरेको छ।

देशका विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न सूचना आह्वान गरिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। दसवटामध्ये चार ठाउँमा उत्खनन ९माइनिङ० गर्न र बाँकी ठाउँमा अन्वेषण ९प्रोसपेक्टिङ०का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको महानिर्देशक घिमिरेको भनाइ छ। अन्वेषणको अनुमति पत्रका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको छ।

उत्खननका लागि दसदेखि तीस वर्षसम्म र अन्वेषणका लागि दुई वर्ष प्रदान गरिने महानिर्देशक घिमिरेको भनाइ छ। विभागका अनुसार रोल्पाको सुनछहारी गाउँपालिकास्थित किमासेपोझार वनमा ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सुनखानीको अन्वेषण गर्न सूचना आह्वान गरिएको छ। यो क्षेत्रमा करिब ८० हजार टन सुनको कच्चा पदार्थ रहेको अनुमान छ। त्यसैगरी धादिङ, मकवानपुर र उदयपुरमा रहेका तामाखानी र पाल्पामा रहेको कोइला खानीको अन्वेषण गर्न अनुमति पत्र प्रदान गर्न सूचना आह्वान गरिएको छ।

त्यसैगरी सल्यानमा पाँच वर्गकिलोमिटरमा फैलिएको चुनढुङ्गाको उत्खनन, धादिङमा ५ दशमलव ३२ वर्गकिलोमिटरमा फैलिएको चुनढुङ्गा खानी, मुस्ताङमा दुई वर्गकिलोमिटर क्षेत्रमा फैलिएको नुन खानी उत्खनन गर्न अनुमति लिनका लागि सूचना आह्वान गरिएको विभागले जनाएको छ। अन्वेषण तथा उत्खननका लागि इच्छुक कम्पनीहरूले पेस गरेका प्राविधिक तथा आर्थिक प्रस्तावहरूमध्ये सबैभन्दा पहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने छ, प्राविधिक प्रस्तावको मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कन गरिने छ।

थाह खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *