Sajhamanch Archive

गोठगाउँबाट एकै दिन ४० जनाले जिते कोरोना

Published: in प्रदेश तह, समाज by .

विराटनगर  । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेसनबाट ४० जना कोरोना जितेर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेका ४० जना एकै दिन घर फर्किएका हुन् ।

कोरोना जितेर डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना छन । उनीहरू १५ देखि ४७ वर्ष उमेर समूहका छन् ।

उनीहरूलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैंचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङले फूलगुच्छा दिएर बिदाई गरे ।

अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई विदाई गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने क्रममा रहेको बताए । प्रदेश कोरोनामुक्त भएको खबर चाँडै सुन्न पाइने उनले बताए ।

कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको बताउँदै उनले क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने बताए ।

आज डिस्चार्ज भएकाहरू २२ जेठदेखि २६ जेठसम्ममा अस्पताल भर्ना भएका थिए ।

बिहीबार ४० जना डिस्चार्ज भएसँगै प्रदेश १ मा कोरोना जितेर घर फर्किनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १७ छ ।

संक्रमितमध्ये २९ जना कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *