Sajhamanch Archive

बंगाल सरकारको दादागिरी, मेची पुलमा रोकिए २५ ट्रक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । भारतको पश्चिम बंगाल सरकारको दादागिरीले गर्दा निर्यात हुन लागेको व्यवसयीको करिव ७ करोड मुल्य बराबरको कृषिजन्य वस्तु बिग्रीने अवस्थामा पुगेको छ ।

नेपाली व्यवसायीले २५ वटा ट्रकमा भारत तथा बंगलादेश पठाउन लागेको चिया, अलैँची र अम्रीसोको गाडी पश्चिम बंगाल सरकारले मेचीपुलमा रोक्दा करोडौँको कृषिजन्य वस्तु बिग्रीने अवस्थामा पुगेको हो ।

पराजुली टि–स्टेट भद्रपुरका सञ्चालक आदित्य पराजुलीले ८/१० दिनदेखि काँकरभिट्टाको मेचीपुलमा कृषिजन्य वस्तु रोकिएको बताए ।

‘केहि दिनअघि अम्रीसोको गाडी भारत हुँदै बंगलादेश गएको थियो’, सञ्चालक पराजुलीले भने–‘हामीले पनि अन्य कृषिजन्य वस्तुको गाडी पठाएको थियौँ । तर, भारतीय प्रहरीले रोकिदियो ।’

‘मेची भन्सारबाट सबै प्रक्रिया पुरा गरेर गाडीहरु भारत पठाएका थियौँ । भारतीय कस्टमले पनि प्रक्रिया पुरा गर्न भनेको थियो । तर, उताको प्रहरीले मेचीपुलबाट गाडी अघि बढाउनै दिएन’–उनले भने ।

उनका अनुसार वर्खाको सिजन छ, मेचीपुलमा नै गाडी बसेको १० दिनबढी भइसकेको छ । पानीले चुहिन थालेपछि गाडीमा त्रिपाल लगाएका छौँ, कृषिजन्य वस्तु बिग्रीए व्यवसायीको करिव ६ देखि ७ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेकोे पराजुलीको दावी छ ।

नाकामा १० दिनदेखि चियाका १४ वटा, अलैँचीको १० वटा र अम्रीसोको एउटा गाडी रोकिएकोे भन्सार एजेन्ट रोशन अग्रवालले बताए ।

व्यापारका लागि नाका सहज बनाउने भनेर कस्टमलाई परिपत्र गरेकोे बताए । पश्चिम बंगाल सरकारले भने केन्द्रको निर्देशन अटेर गरेको उनको भनाई छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले कृषिजन्य वस्तुको २५ वटा गाडी प्रक्रिया पुरा गरेर भारत लागि पठाइएको बताए । तर, भारको पश्चिम बंगाल सरकारले नाकामा उक्त गाडीहरु जान नदिएको उनले जानकारी दिए ।

बंगाल सरकारले एकतर्फीरुपमा नाका बन्द गरेको उनको भनाई छ । मेचीपुलमा रोकिएका गाडीहरु पठाउने पहल भइरहेको भन्सार प्रमुख विश्वकर्माले बताए ।

स्रोत : लोकतन्त्र पोस्ट्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *