Sajhamanch Archive

एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा नेपालको डेब्यु

Published: in खेलकुद by .

यो ऐतिहासिक समयमा नेपालले एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा आफ्नो यात्रा शुरुवात गर्नेछ ।

नेपालको उदयको कथा निकै रोचक छ । आइसीसी विश्वकप छनौट २०१८ मा त झन् नेपालको प्रदर्शन अविस्मरणीय रह्यो ।

पारस खड्काको रुपमा नेपालले उत्कृष्ट ब्याटसम्यान र कप्तान पाएको छ भने सन्दीप लामिछाने जस्तो उदाउँदो सुपरस्टार टोलीमा रहेका छन् ।

तर, नेपाली टोलीको परिचय यी दुई खेलाडीमा मात्र सिमित छैन । नेपाली टोलीमा लामो समय योगदान दिने अनुभवी खेलाडी बसन्त रेग्मी, सोमपाल कामी, शरद भेस्वाकर, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन जस्ता खेलाडीहरु पनि छन् ।

आफ्नो कौशललाई न्याय गर्ने उत्कृष्ट स्वभाव र प्रदर्शनले नेपालको खेललाई रोमाञ्चक बनाउने गर्छ । करण केसी र लामिछानेबीचको ५१ रनको अन्तिम विकेटको अद्वितीय साझेदारीसँगै क्यानाडालाई हराउँदै नेपाल क्वालिफायरसम्म पुगेको थियो । झिनो अन्तरमा प्रतिस्पर्धात्मक खेल जितेकै कारण नेपालले ‘कार्डियाक किड्स’ को उपमा समेत पाएको छ ।

अब एकदिवसीय स्तरमा पुगेको नेपालले पछिल्ला खेलको यही प्रदर्शनको आधारमा खेल सुधार्दै अघि बढ्नुपर्ने देखिन्छ ।

‘हामी सधैँ यहाँसम्म आइपुग्ने सपना देख्थ्यौँ तर अबको चुनौति भनेको कसरी सुधार गर्दै अघि बढ्ने भन्ने हो । आठ वर्षअघि हामी आइसीसी विश्व क्रिकेट लिगको पाँचौ डिभिजनमा खेलिरहेका थियौँ र आगामी चार वर्षलाई एकदिवसीय खेलको मान्यतासँगै आज हामी विश्वका उत्कृष्ट १६ राष्ट्रमध्ये एक बनेका छौँ,’ आइसीसीको वेबसाइटसँग कुरा गर्दै पारसले भने ।

नेदरल्याण्डबिरुद्ध नेपालले राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ । तर, पछिल्लो समय घरेलु टोली नेपालमाथि हाबी देखिएको छ ।

यदी नेपालमा अनुभवी खेलाडी छन् भने नेदरल्याण्डसँग अनुभव झन् त्योभन्दा बढी छ । नेदरल्याण्डले सन् १९९६ को विश्वकप क्रिकेट यता ७९ एकदिवसीय खेल खेलिसकेको छ ।

नेदरल्याण्डसँग पिइटर सिलार, वेस्ली बारेसी, स्टेफन माइब्र, म्याक्स ओ’डाउड जस्ता उत्कृष्ट खेलाडी रहेका छन् ।

त्यही भएर दुई टोलीको बीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

 

हेर्नुपर्ने खेलाडी

वेस्ली बारेसी (नेदरल्याण्ड)

केही दिनअघि लर्डसमा वर्षाले प्रभावित भएको नेपालबिरुद्धको टी–२० खेलमा नेदरल्याण्डले १६.४ ओभरमा १७४ रन बनाउँदा बारेसीले सर्वाधिक ४४ रन बनाएका थिए । उनीसँग एक दशकको लामो अनुभव छ भने उनले २८ एकदिवसीय खेल खेलिसकेका छन् । माथिल्लो क्रममा नेदरल्याण्ड उनीमाथि नै भर पर्नेछ र नेपालले उनलाई चाँडै आउट गर्ने कोशिस गर्नेछ ।

सन्दीप लामिछाने (नेपाल)

पिचको अवस्था हेरेर भोलि हुने खेलमा सन्दीप हिरो या जिरो हुन सक्छन् । बल टर्न गर्यो भने १७ वर्षीय लेग स्पीनर नेदरल्याण्डका लागि टाउको दुखाईको विषय बन्नेछन् । विभिन्न अन्तर्राष्ट्रिय लिगको अनुभव बटुलेका सन्दीपको राम्रो प्रदर्शनमा पनि नेपालको आशा टिकेको हुनेछ ।

मैदानको अवस्था

यो मैदानमा भएको नेदरल्याण्ड र स्कटल्याण्डबीचको टी–२० खेलमा पाहुना टोलीले निर्धारित २० ओभरमा २२१ रन बनाएको थियो । त्यही भएर यो मैदानमा टिकेर खेल्न सकृ ब्याटसम्यानका लागि सहयोगी हुने अपेक्षा गर्न सकिन्छन् । तर, जवाफमा घरेलु टोली स्पीनर हामजा ताहिरको शिकार बन्दै १०६ मा अलआउट बनेको थियो ।

हालै आयोजना भएको आइसीसी महिला विश्व टी–२० छनौट २०१८ मा भने फरक फरक नतिजा देखिएको थियो । कोही टोलीले ठूलो स्कोर खडा गरेका थिए भने कोहीले रन नै बनाउन सकेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *