Sajhamanch Archive

धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आइसोलेट सेन्टर बन्ने

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगरमा आइसोलेट सेन्टर बन्ने भएको छ । कोरोना भाइरस (कोभिड -१९ ) को संक्रमितको संख्या बढीरहेको अवस्थामा पुर्वी सिमानाको नगरपालिकामा संक्रमितलाई अलग्याएर राख्नका लागि आइसोलेट सेन्टर बन्ने भएको हो ।

मेचीनगर वडा नं.११ को धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई आइसोलेट सेन्टर बनाउने निश्चित भएको मेचीनगरका प्रमुख बिमल आचार्यले बताए । प्रमुख आचार्यले भने,‘यो कोरोना संक्रमित बिरामीलाई उपचार गर्ने अस्पताल होईन, कुनै लक्षण नदेखिएका तर पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएकाहरुलाई अलग्गै राख्नका लागि बनाइएको आइसोलेट सेन्टर हो ।’

लक्षण नदेखिएका संक्रमितहरुलाई उपचार नै गर्नु पर्ने अवस्था नहुने तर ति संक्रमितले अरुलाई भाइरस सार्न सक्ने भएकाले केही समयका लागि अलग्गै राख्नु पर्ने भएकाले त्यस्ता संक्रमितहरुलाई राख्नका लागि आइसोलेट सेन्टर बनाइएको प्रमुख आचार्यले बताए ।

अहिले देखिएका अधिकाशं संक्रमितमा कुनै लक्षण नदेखिएकाले त्यस्तालाई अस्पतालमा नै लगेर उपचार गर्नु नपर्ने चिकित्सकहरुले समेत बताइरहेको हुँदा त्यस्तालाई आइसोलेट सेन्टरमा राखिने प्रमुख अचार्यको भनाई छ । उनका अनुसार आइसोलेट सेन्टेरमा रहेकाहरुलाई थप उपचार आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्था समेत गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रदेश १ का प्रतिनिधि हरिकृष्ण भट्टराई र प्रदेश सामाजिक विकास मन्त्रालयका नर्सिङ अधिकृत केसु काफ्लेले आज आइसोलेट सेन्टरको प्राविधिक निरीक्षण समेत गरेका छन् । निरीक्षणका क्रममा सेन्टर स्थापनाका लागि धाइजन स्वास्थ्य चौकीको भवन उपयुक्त रहेको समेत उनीहरुले बताए ।

३२ जना राख्न सकिने गरी आइसोलेट सेन्टर बनाउने र त्यसका लागि बेड, अक्सिजन लगायतका प्राविधिक सामग्री आइसकेको र दुई दिन भित्रमा संक्रमितहरु राख्नका लागि पूर्ण रुपमा सेन्टर तयार हुने मेचीनगरका उपप्रमुख मिना उप्रेतीले बताइन् । आइसोलेट सेन्टर स्थापनाका लागि प्रदेश सरकारले मेचीनगरलाई दश लाख रकम उपलब्ध गराउने समेत निर्णय भइसकेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

आज नगर प्रमुख, उपप्रमुख, बिश्व स्वास्थ्य संगठनका प्रदेश १ का प्रतिनिधि भट्टराई र प्रदेश सामाजिक बिकास मन्त्रालयका नर्सिङ अधिकृत काफ्ले, धुलाबारी स्वास्थ्य केन्द्रका प्रमुख डा. सुधाकर झा, जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौंलागाई, जिल्ला स्वास्थ्य कार्यालयका दिपक सापकोटा, सञ्चारकर्मी लगायतले सामुहिक रुपमा आइसोलेट सेन्टर लागि धाइजन स्वास्थ्य चौकीको निरीक्षण गरेका थिए ।

स्रोत : रेडियो साथी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *