नेकपा अध्यक्षद्वयले सांसदहरुलाई भने– नागरिकता विधेयकमा छिट्टै निर्देशन आउँछ
Published:
by .काठमाडौं । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।
दुबै नेताले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेका छन् ।
बालुवाटारमा भएको छलफलमा वैवाहिक अगीकृत, अंगीकृत नागरिकता र थर परिर्वतनबारे छलफल भएको थियो । नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नगरिकता दिनुपर्ने मतमा नेकपा सांसदहरु सहमत छन् ।
तर विदेशी ज्वाइँलाई नागरिकताबारे चर्को विवाद छ । नेकपाका महिला सांसदहरुले विदेशी बुहारीलाई जस्तै ज्वाइँलाई पनि ७ वर्ष स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिनुपर्ने मत राखेका छन् तर अरुले विरोध गरेका छन् ।
‘उहाँहरुले हाम्रो कुरा सुन्नुभयो र दलहरुबीचमा पनि छलफल भइरहेको छ, छिट्टै पार्टीको निर्देशन आउँछ भन्न भएको छ’ सांसद विजय सुब्बाले भने । नागरिकता विधेयकबारे धारणा बनाउन नेकपाले भोलि सचिवालय बैठक बोलाएको छ । बैठक भोलि विहान ९ बजे बस्नेछ ।
स्रोत : अनलाइनखबर
Comments