Sajhamanch Archive

नीति कार्यक्रम र बजेटमा के राखौं ? सहकारीकर्मीसँग बिनपाको छलफल

Published: in सहकारी, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपूर्व नगरका सहकारी प्रतिनिधिसँग छलफल गरेको छ । आइतवार कार्यालयमा बोलाएर नगरपालिकाले झापा जिल्ला सहकारी सङ्घसहित अगुवा सहकारीकर्मीसँग छलफल गरेको हो ।

सहकारी अभियानलाई उत्पादनसँग जोड्दै साझेदारी गर्ने सम्बन्धमा नगरपालिकाले बजेट ल्याउनु पूर्व छलफल गरेको उपप्रमुख पवित्रा महतराले बताइन् । ‘सहकारी र नगरपालिकाबीच साझेदारी कार्यक्रम सञ्चालन गरेर रोजगारीका अवसर सिर्जना गर्न सकियोस् भन्ने छलफलको उद्देश्य हो’, उपप्रमुख महतराले भनिन् ।

छलफलमा सहभागी सहकारीकर्मीले नगरपालिकासँग सहकार्य गर्न तयार रहेको जनाउँदै साझेदारीमा कृषि, पशुपालन लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्न तयार रहेको जनाएका छन् । उनीहरुले सहकारीको मर्म र भावना अनुसार व्यवसायिकरुपमा काम गर्ने गरी बजेट बिनियोजन गर्न नगरपालिकालाई आग्रह पनि गरेका छन् ।

छलफलका क्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले झापाली सहकारी अभियानका तर्फबाट उपप्रमुख महतरालाई सुझावसहितको मागपत्र बुझाएका छन् । राजस्व परामर्श समितिमा सहकारीको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राखिएको छ ।

संघका अध्यक्ष ढकालले उत्पादनमा सहकारी जोड्ने गरी संघले बिदेशबाट फर्किएकालाई पूँजीगत अनुदान, कृषि संकलन केन्द्र स्थापना, सुपथ सहकारी पसल सञ्चालन लगायत उत्पादनसँग जोडिएका कृषि, पशुपालन लगायतका विषयमा साझेदारी गर्न सहकारी तयार रहेको बताए ।

छलफलपछि आवश्यक सुझावसहितको ठोस् योजना बनाउन जिल्ला संघका सहसचिव भवानीप्रसाद दंगालको संयोजकत्वमा नौ सदस्यीय समिति बनाइएको छ । समितिमा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, कृषि शाखाका प्रमुख राजेन्द्र कडरिया, पशुशाखा प्रमुख सावित्रा दाहाल, शिक्षा शाखाका अधिकृत दिनेश आचार्य, सहकारीकर्मीहरु टसबहादुर प्रधान, कमलबहादुर बस्नेत, मोहन सिवाकोटी र दीपेन्द्र राउत सदस्य छन् ।

छलफलमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले नगरपालिकाले वातावरण मिलाइदिने भन्दै लगानी सहकारीले गर्नु पर्ने बताए । उनले सहकारीले सदस्यलाई गर्दै आएको लगानी कृषि र उत्पादनमूलक क्षेत्रमा केन्द्रीत गर्नु पर्नेमा जोड दिए ।

शाखा अधिकृत देवराज कार्कीले सहकारीसँग साझेदारी गर्दा कार्यक्रम परिणाममुखी हुनुपर्ने बताए । ‘सहकारी अभियानप्रति नगरपालिका सकारात्मक छ’, अधिकृत कार्कीले भने, ‘सहकार्य र साझेदारीमार्फत ठोस् उपलब्धि होस् भन्ने हाम्रो चाहना हो ।’

छलफलमा नेपस्कुनका सञ्चालक सदस्य घनश्याम अधिकारी, संघका सचिव युवराज ढकाल, सदस्य कृष्ण मिश्र, अगुवा सहकारीकर्मी रुद्रमणि श्रेष्ठ, रुद्र सिटौला, सुब्रत न्यौपाने लगायतले आ–आफ्ना सुझाव राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *