Sajhamanch Archive

नेउवा महासंघको निर्वाचन साउन २५ र २६ मा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी साउन २५ र २६ गते हुने भएको छ । पदाधिकारी बैठकले आइतबार उक्त निर्णय गरेको महासंघका अध्यक्ष भवानी राणाले जानकारी दिएकी हुन् ।

‘यो निर्णयलाई कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘त्यसका लागि सोमबार बैठक राखिएको छ ।’

चैत २८ र २९ मा महासंघको साधारणसभा गर्ने निर्धारित मिति थियो । कोभिड–१९ संक्रमण कम गर्न सरकारले चैत ११ देखि नै लकडाउन गरेपछि महासंघको साधारणसभा स्थगन भएको थियो ।

‘मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार बिस्तारै लकडाउन खोल्दै लैजाने नीति छ’ राणाले भनिन्, ‘त्यसैअनुसार हामीले पनि साधारणसभाको मिति तय गरेका हौं ।’

मन्त्रिपरिषद्ले लकडाउन खुकुलो पारेलगत्तै साधारणसभाको मिति तय गर्न महासंघ पदाधिकारीमाथि दबाब थियो । यो साधारणसभाले महासंघका विभिन्न पदमा निर्वाचन गर्नेछ । हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् ।

वरिष्ठ उपाध्यक्षसहित अन्य विभिन्न पदमा भने निर्वाचन हुनेछ । साधारणसभाको मिति तय गर्ने गृहकार्यसँगै निजी क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *