Sajhamanch Archive

सडक स्तरीकरणको कामको गुणस्तरमाथि प्रश्न उठ्यो

Published: (Updated: ) in समाज, स्थानीय तह by .

भद्रपुर । सघन सहरी विकास योजना अन्र्तगत भद्रपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका सडक स्तरीकरणका कामको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ ।

पहिलो, दोश्रो र तेस्रो चरण गरी तीन खण्डमा भइरहेका अधिकाम्स सडक स्तरीकरणका काम निर्माण ठेकेदार कम्पनीले कन्ट्राक्ट ठेकेदारका भरमा जिम्मा लगाउँदा निर्माण गुणस्तरमाथि प्रश्न उठेको हो ।

निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ तथा कल्र्भट धसिने र कालोपत्रे उक्कने समस्या देखिन थालेको स्थानीय विष्णु राजवंशीको भनाइ छ । राजवंशीका अनुसार सडक निर्माण स्थलमा सरकारी प्राविधिक टोली कमै मात्र आउने गरेका छन् भने निर्माण ठेकेदार कम्पनीका प्राविधिक पनि पेटीे कन्ट्राक्टरका कामदारको भरमा विश्वस्त भएर निर्माणाधीन संरचना बनिइ रहेका छन् ।

दुई महिना अगाडि कालोपत्रे गरिएका सडकमा अहिलेसम्म कालोपत्रेले सेट नलिइएको पाइएको छ । चन्द्रगढी सामुदायिक वन समितिको पश्चिम चन्द्रगढी हुँदै देउनिया खोला जोड्ने सडक, भद्रपुर नयाँ वजार हुँदै पोखरी पूर्व तथा पश्चिम रङ्गिला चौक निस्कने सडकको कालोपत्रेले निर्माण भएको दुई महिनामा पनि सेट नलिएपछि सवारी साधन आवागमनमा कालोपत्रे भत्कन थालेको छ ।

कमजोर नियामकको फाइदा उठाउँदै ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरिरहेका छन् । ग्राभेलिङमा मिक्स गिटी प्रयोग गर्नु पर्नेमा माटो मिसिएको धुलो बालुवाले पुर्ने काम भइरहेको स्थानीयको भनाइ छ । ५ इञ्च मोटाइको सडक नाली वाल ढलाइ हुनु पर्नेमा ४ इञ्चभन्दा बढीका ढलान गरिएको छैन । गिटी बालुवा र सिमेन्टको परिणाम समेत सम्झौता बाहिर भइरहे पनि गुणस्तर मापन गर्नेको दृष्टि पर्न नसक्नु रहस्यमय भएको स्थानीयको आरोप छ ।

यस्तै भद्रपुर ६ स्थित सयपत्री मार्गको सडक खण्ड निर्माण सुरू भएको दुई वर्षमा पनि निर्माण सम्पन्न नभएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ ।

निर्माण लागत, ठेक्का रकम, ठेकेदार कम्पनी र निर्माण सम्पन्न हुने मिति जनित सूचना बोर्ड समेत नराखिएको सो सडक कतै कालोपत्रे, कतै नाली निर्माण त कतै खनेर अलपत्र बनाइएको छ । श्रेष्ठ कन्ट्रक्सन हेटौडाले निमार्ण ठेक्का लिएको भनिएको सो सडक खण्डमा पेटीे कन्ट्राक्टरका कामदारका भरमा भएका काम गुणस्तरहीन रहेको स्थानीय विष्णु राजवंशीको आरोप छ । राजवंशीका अनुसार तीन वटा पेटीे कन्ट्राक्टरले गरेको नाली निर्माण, ग्राभेलिङ र कालोपत्रे आधा आधा मात्र सम्पनन भएका छन् । जसमा कालोपत्रे उक्कन थालेको छ भने ग्राभेलिङ र कल्र्भट धसिन थालेको अवस्था छ ।

नियामकको भूमिकामा रहेको सघन शहरी विकास कार्यालय भद्रपुरका इञ्जिनियर विनोद सिंह भने सघन शहरी विकास अन्र्तगत भइरहेका कामको गुणस्तर कमसल हुन नदिइएको दावी गर्छन् । सिंहका अनुसार निर्माण सम्पन्न भएपछि कतै कतै समस्या देखिए पुनः मर्मतसंहार गरेर मात्र ठेकेदार कम्पनीबाट सरकारले बुझ्ने प्रावधान छ ।

यस आयोजनामा श्रेष्ठ कन्ट्रक्सन मकवानपुर—काठमाण्डौले ३० किमी, गजुरमुखी कन्ट्रक्सन इलामले २३ किमी, खनाल कन्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जलि जेभी अरनिको हेविटस जलथलले ५ किमी सडक नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् । बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । दुई अर्व रुपैयामा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *