Sajhamanch Archive

स्वास्थ्य सामग्री खरिदमा अनियमितता : नेपाली रुपैयाँमा मूल्यांकन, डलरमा खरिद सम्झौता

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोभिड-१९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको पाइएको छ।

संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्‍न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको बताए। यस्तै खरिद प्रक्रिया अगाडि बढाएर सम्झौता गरेपछि मात्रै बजेटको माग गरिएको पाइएको सभापति शाहले बताए।

यो प्रक्रियामा स्वास्थ्य मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्‍न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिको कुनै भूमिका नदेखिएको उनले बताए।

प्रारम्भिक छलफलमा सहभागी नभएको अनिता बिजनेस हाउस प्रालि वार्तामा सहभागी गराएको र कोटेशन लिएको, लागत अनुमान नेपाली रुपैयाँमा तयार गरी अमेरिकी डलरमा सम्झौता गरेकोकारणले स्वास्थ्य सामग्रीको मूल्यमा तलमाथि परेकोसमेत उनले बताए।

ओम्‍नी बिजनेस प्रालि (ओबिसिआई) सँग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको र दुई दिन म्याद बाँकी छँदै २०७६ चैत २० गते खरिद सम्झौता रद्ध गरेको पाइएको छ। तर कालो सूचीमा राख्‍न सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) लाई पत्राचार गरेर उक्त कम्पनीबाट मन्त्रालयलाई भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति भराउने काम नगरेको तथ्यहरु प्रारम्भिक अध्ययनमा फेला परेको सभापति शाहले बताए।

एन ९५ मास्क को लागत अनुमा ४ सय ६२ रुपैयाँ ५० पैसा रहेकोमा गैरकानुनी रुपमा लागत अनुमान भन्दा बढी हुने गरी ८ सय २८ रुपैयाँ ६७ पैसामा ओम्‍नी बिजनेसबाट खरिद सम्झौता गरेको खुलेको छ। एक महिनाअघि त्यही सामान खरिद गर्दा लगात अनुमान २ सय ६५ रुपैयाँ ४८ पैसा रहेको र प्रस्ताव न्यूनतम ६ सय ४८ रुपैयाँ परेकोमा खरिद नगरेको देखिएको प्रारम्भिक अध्ययनमा देखिएको छ।

यस्तै सार्वजनिक निकायको एक वर्ष भित्र गरिने खरिदको लागत अनुमान एकै मूल्यमा हुनुपर्नेमा एक महिना अघि थर्मोमिटर खरिद गर्दा ४ हजार रुपैयाँ मूल्य कायम गरेको तर ओम्‍नीबाट खरिदका लागि ७ हजार ५ सय रुपैयाँमा सम्झौता गरेको देखिएको छ। ओम्‍नी बिजनेससँग कार्य सम्पादन जमानत जफत गर्न बैंकलाई पत्राचार गरेको तर जफत भए नभएको जानकारी प्राप्त नभएको, कम्पनीले सम्झौता अनुसार खरिदमा पुर्‍याएको क्षतिको असुल उपर नगरी गुणस्तर परिक्षण नगरी मालसामान उपयोग गरी गैर कानुनी रुपमा भुक्तानी दिएको सभापति शाहले बताए।

२०७७ वैशाख २३ गतेका दिन विज्ञ समितिको तर्फबाट दिएको प्रतिवेदनमा पीसीआर मेसिन स्वीकृत स्पेशिफिकेशन अनुसार नभएको, इनकमिङ इन्सपेक्सन रिपोर्टमा थुप्रै कुराहरु नभएको देखाएको तर त्यसको वास्ता नगरी समान लिएर वितरण गरिएको समितिले निचोड निकालेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको राय मुताविक औषधि व्यवस्था विभागले सामग्रीको गुणस्तर अनुमान गर्नुपर्ने सुझाव दिएको तर औषधि व्यवस्था विभागबाट अनुगमन नगरी नगराई सामग्री उपयोग गरेको पनि समितिले ठहर गरेको छ।

जनस्वास्थ्य प्रयोगशालामा सामग्रीको परीक्षण नभएको, प्रयाप्त संख्यामा निर्धारित समयमा सामग्री प्राप्त नभएको तर उक्त सामग्री बुझी विभिन्‍न निकायलाई वितरण गरेको विवरण दिएको भनिए पनि त्यसको सदुपयोग नभएको कुनै तथ्याङ्क उपलब्ध नगराएको प्रारम्भिक अध्यनबाट देखिएको सभापति शाहले बताए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *