Sajhamanch Archive

प्याब्सन एन–प्याब्सनलाई अखिलको चेतावनीः लकडाउन अवधिको कुनै पनि शुल्क लिन पाइँदैन (विज्ञप्तीसहित)

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

काठमाडौं । चैत ६ गतेदेखि बन्द रहेका निजी विद्यालयका सञ्चालकहरुको संगठन प्याब्सन र एन–प्याब्सनले सो अवधिको पनि शुल्क असुल्न अभिभावकलाई गरेको अपिलप्रति अखिलले आपत्ति जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–को भातृ संगठन अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङले आज विज्ञप्ती जारी गरेर आपत्ती जनाएका हुन् ।

विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको कष्टकर बेलामा पनि शुल्क असुल्ने अभिप्राय स्वरुप जारी गरिएको संयुक्त अपिलप्रति अखिलले आपत्ति जनाएको हो । कोरोना कहरका कारण लकडाउनले गर्दा आमविद्यार्थी र अभिभावकहरु चौतर्फी आक्रान्त भएका बेला हठात् शुल्क उठाउने निजी विद्यालय संचालकहरुको आह्वानको अनेरास्ववियुले घोर निन्दा र भर्त्सना गरेको छ ।

‘हामी सबैलाई थाहा छ, यतिबेला लकडाउनका कारण मुलुकमा झण्डै ९० लाख विद्यार्थीहरु शिक्षालय जानबाट रोकिएका छन् । अझ विद्यालय तहमा कलिला बालबालिकाहरु पढ्ने भएकाले कोरोना कहरका दृष्टिले विद्यालय क्षेत्र झनै संवेदनशील छ । लकडाउन केही खुकुलो हुँदै गएपनि उक्त संवेदनशीलताका कारण शिक्षा क्षेत्र सबभन्दा ढिलो खुल्नुपर्ने परिस्थिति विद्यमान छ । यस्तो विषम परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी अभिभावकहरुले व्यहोरिरहेको संकटलाई पूर्णरुपमा बेवास्ता गरी एकतर्फी रुपमा शुल्क उठाउने आह्वान आपत्तिजनक छ’ विज्ञप्तीमा भनिएको छ ।

प्याब्सन र एनप्याब्सनले ‘विद्यालयमा उपस्थित भई सामाजिक दूरी कायम गरी विद्यार्थीको भर्ना अभिलेख अध्यावधिक गर्न, २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्न , २०७७ सालको विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्न उर्दी जारी गरेका छन् ।

कोरोना कहरको त्रासदी, अभिभावकको विकाराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्णरुपमा उपेक्षा गरी विद्यालय बन्द रहेको बेला जारी गरिएको यो अपीललाई अवज्ञा गर्न अनेरास्ववियू आमअभिभावक र विद्यार्थीलाई आह्वान गरेको छ ।

यसप्रकारको असान्दर्भिक र अब्यवहारिक निर्णय तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्नसमेत अनेरास्ववियुले चेतावनी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *