Sajhamanch Archive

कोरोनाको त्रासमा लकडाउनः आत्महत्या होइन, जोखिम बढेको

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, विविधा, समाज by .

कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै ! भन्नेजस्ता समचार शीर्षकहरु हिजोआज प्रसस्त देखिन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ।

लकडाउन सुरु भएदेखि ७५ दिनसमम्म अवधिमा नेपालमा एक हजार २२७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन । नेपालमा पनि आत्महत्या पहिलादेखि नै जनस्वास्थ्यको एउटा ठूलो समस्या र चुनौतिका रूपमा देखापर्दै आएको जगजाहेर नै छ ।

नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८–१० प्रतिशतले वृद्धि हुँदै गइरहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५ हजार ७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । यसरी हेर्दा नेपालमा प्रत्येक दिन सरदर १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ।

प्रकृतिक बिपत्ति पर्दा, रोग ब्याधि फैलिँदा आदि असहज र जोखिमपूर्ण अवस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने हुन्छ । त्यसैले आत्महत्या लकडाउन पछिको मात्र समस्या हो । लकडाउन पछि भयावह भएको छ । पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । लकडाउनभन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने फरक देखिँदैन, सरदर उस्तै आँकडा हो। तर डर चाहिँ के हो भने आत्महत्याको दर बढ्दै पो जाने होकि ! यस्ता संकेतहरु देखापर्न थालेका पनि छन् ।

लकडाउन अवधिमा बालबालिकामा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ। जुन दुखद पक्ष हो । आत्महत्या एकदमै संवेदनशील विषय हो । आत्महत्याको समचारलाई अतिरन्जित र सनसनीपूर्ण बनाउनु हुँदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्याउँछ। डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढ्छ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।

आत्महत्या नेपालको मात्र होइन, विश्वकै साझा समस्या हो। विश्वमा प्रत्येक ४० सेकेण्डमा एकजनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा २५ व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष विश्वमा सरदर ८–१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दूर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्युभन्दा धेरै गुणा बढी हो ।

विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोही ब्यक्ति आत्महत्या गरेर आफ्नो जीवन आफैं समाप्त पार्न खोज्छन ? आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि ब्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नु बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । उ चरम निरासामा डुबेको हुनसक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउँदा वा अत्याधिक जाँड, रक्सी, लागुपदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ । व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

धेरैजसो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ । जसरी कुनै कुनै शारीरिक रोगमा केही ब्यक्तिहरु उच्च जोखिमा हुन्छ । त्यसैगरी केही ब्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केही उच्च जोखिममा हुन सक्छन् । जस्तो मानसिक रोग डिप्रेसनमा रहेको, कुनै दुखद घटनाले धेरै प्रभावित, पटक पटक आत्महत्याको प्रयास गरेको, तनावपूर्ण पेशामा भएकाहरु, पारिवारिक झैझगडा, आर्थिक संकट भएका, बेरोजगार, लागु प्रदार्थको कुलतमा फसेका आदि आदि ।

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पूर्वजन्मको पाप र अपराध ठान्छ । देवी देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म हुने गरेको पाइन्छ । त्यसैले मानसिक रोग र आत्महत्याप्रतिको गलत बुझाई, धारणा र सोचमा परिवर्तन आउन अत्ति आवश्यक देखिन्छ ।

“हरपल मरीमरी बाँच्नुभन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ । त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ ।” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनसक्छ। त्यो थोरै समयमा आफूले गरेको धिरता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धिरता जीवन परिवर्तनका लागि पर्याप्त हुनसक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ । मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एकदिन त्यो तुवाँलो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइँदैन । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।

(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *