Sajhamanch Archive

मेक्सिकोमा शक्तिशाली भूकम्प, मानिसको भागाभाग

Published: in विश्व समाचार by .

मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७।४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घर बाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् ।

मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरका बासिन्दा भूकम्पको मुख्य झड्का र ससाना परकम्पबाट त्रसित बनेका छन् । मृत्यु भएका सबै व्यक्ति यही शहरका बासिन्दा हुन् । उनीहरुलाई भूकम्पका कारण भत्किएको घरले थिचेको थियो ।

कोरोना भाइरसको महामारीका कारण शहर बजार बन्द गरेर घरभित्र बस्नु परेका नागरिकलाई भूकम्पले सडकमा ल्याएको स्थानीयबासीको भनाई छ । ओक्जाका शहरका ६० वर्षीय फूल बिक्रेता जुआ मार्टिनेजले बजारमा चहलपहल शुरु हुन नपाई भूकम्पले अर्को समस्या थोपरेको गुनासो गरे ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहभन्दा २३ किलोमिटरमुनि मात्र रहेको थियो । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले भूकम्प निकै शक्तिशाली भए पनि बन्दरगाह, बिमानस्थल, तेल प्रशोधन केन्द्रहरु र विद्युत गृह जस्ता रणनीतिक पूर्वाधारमा कुनै क्षति नभएको बताएका छन् ।

मेक्सिकन आयलले ओक्जाकास्थित सालिना क्रुज प्रशोधन केन्द्रलाई पूर्व सावधानीका लागि बन्द गरिएको जनाएको छ । भूकम्पका कारण एउटा प्लान्टमा आगो समेत देखिएको कम्पनीले जनाएको छ । यही प्रशोधन केन्द्रमा कार्यरत एक मजदूर माथिबाट लडेर मृत्यु भएको थियो । मेक्सिकन आयलले मुलुकका अन्य रिफाइनरी पूर्ववत रुपमा सञ्चालनमा रहेको जनाएको छ ।

भूकम्प गएको छ घण्टाको अवधिमा ४।६ म्याग्नीच्यूडसम्मका ४४७ वटा परकम्प गएका अधिकारीहरुले बताएका छन् । भूकम्पबाट भएको जनधनको अरु क्षतिको विवरण संकलन गर्ने तथा उद्धारका कार्यहरु भइरहेको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ । एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *