Sajhamanch Archive

झापाली बेघाको प्रेमिल गीत कहिल्यै नजाने गरी सार्वजानिक (म्यूजिक भिडियोसहित)

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, भिडियो, मुख्य समाचार by .

बिर्तामोड । झापाको हल्दिबारीलाई आफ्नो कर्मभूमि बनाएर शिक्षण पेशा तथा सहकारी अभियानमा लागेका मोहन बेघाले प्रेमिल गीत ‘कहिल्यै नजाने गरी’ सिर्जना गरी सार्वजनिक गरेका छन् । गीत संगीतको दुनियाँमा नयाँ पाइला राखेका बेघाले आफ्ना सिर्जनालाई श्रोतामाझ नपुर्याउनु सिर्जना माथि कै अन्याय ठहर्ने सोचका साथ प्रस्तुति दिइएको बताएका छन् ।

यसैको मूर्तरुप हो, बेघाको शब्द तथा संगीतमा ताराप्रकाश लिम्बूको निखारिएको आवाजमा सुन्न थालिएको गीत ‘कहिल्यै नजाने गरी’ । युवामनका ढुकढुकी कवि नवराज पराजुलीको डायलगबाट सुरु भएको प्रस्तुत म्यूजिक भिडियोले नयाँ ट्रेन्डको समेत सूत्रपात गरेको छ ।

कवि नवराज पराजुलीको आवाजमा गीतको शुरुवात मै गुञ्जिने ‘डायलग’ बेघालाई प्राप्त स्वर्णिम उपहार हो रे ! सो गीतको लागि कवि पराजुलीले डायलग मात्र सिर्जना नगरेर स्टुडियोमा गएर आफ्नै स्वरमा रेकर्ड गराई पठाएको बेघाले जानकारी दिएका छन् ।

गीत रचनाको सन्दर्भमा गीतकार बेघा भन्छन्, ‘हामी सबै कोही न कोहीसँग प्रेम बन्धनमा बाँधिएकै हुन्छौं । कोहीलाई यसै मन पर्छ, कसैसँग यसै माया बस्छ । तर यस्तो सौभाग्य कसैकसैलाई मात्र जुर्दछ । मानौं तपाईले मन पराउनु भएको मान्छेलाई मनपर्ने हरचिज (पेशा, जीवनशैली, जीवनको लक्ष्य आदि) उनीलाई भेट्नुभन्दा धेरै अघिदेखिको तपाईको रोजाइको विषय थियो । यही सौभाग्य पाएका प्रेमजोडीको अभिव्यक्ति हो यो गीत ‘कहिल्यै नजाने गरी’ ।’

यस गीतमा ताराप्रकाश लिम्बूले स्वर भरेका छन् । सुन साइँली, ठमेल बजारजस्ता लोकप्रिय गीतमा संगीत संयोजन गरिसकेका रिकेश गुरुङ्गको संयोजन रहेको सो गीतको मिक्सिङ्ग चन्द्र चौधरीले गरेका छन् ।

राज शेर्माद्वारा निर्देशित म्यूजिक भिडियोमा चिरञ्जिवी अधिकारी र रोशनी सिवाकोटीलाई देख्न सकिन्छ । बिर्तामोडको बि एण्ड सी टिचिङ हस्पिटल, होटेल ग्रेण्ड प्यासिफिक, भगवानचौकको आभास भवन, लंका रिसोर्ट, अर्जुनधारा साथै भुरुङ्गा, शान्तिनगर र सालबारीका पर्यटकीय क्षेत्रमा दृश्य छाँयाङ्कन गरिएको छ ।

यस भिडियोको निर्माता गीतकार तथा संगीतकार मोहन बेघाले धेरै दुख र प्रेमसाथ सिर्जना गरेको म्यूजिक भिडियो भएकाले यसको सर्वाधिकार आफैंसँग राखेको बताएका छन् ।

हेरौं म्यूजिक भिडियो पनिः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *