Sajhamanch Archive

बन्द भयो विराटनगरस्थित भारतीय क्याम्प

Published: (Updated: ) in समाज by .

काठमाडौँ । विराटनगरमा रहेको भारतीय क्याम्प बुधबारदेखि बन्द भएको छ । भारतले १० वर्षअघि नेपालको अनुमतिविनै विराटनगरमा क्याम्प खडा गरि काम गरिरहेको थियो ।

यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो ।

अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले जनाएको छ । भारतीय दुतावासले प्रेस विज्ञप्ति जारी गरेर बुधबारदेखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जानकारी गराएको हो ।

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो । त्यो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको हो । तर, त्यसलाई पछि बिराटनगरमा सारेर बलजफ्ती राखिएको थियो ।

कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा बिराटनगरको फिल्ड अफिस हटाउन भारतीय पक्षसँग कुराकानी गरेका थिए । भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि यो विषयले स्थान पाएको थियो ।

भारतीय क्याम्पबाट जासुसी गर्ने काम भइरहेको नेपाली अधिकारीहरुको गुनासो थियो । उत्तरमा चिनियाँ नाकासम्मको गतिविधि नियाल्नेदेखि पूर्वी नेपालमा राजनीतिक चलखेलसम्मका गतिविधि बिराटनगरस्थित भारतीय क्याम्प अफिसबाट हुँदै आएको नेपाली पक्षको गुनासो रहँदै आएको थियो ।

विराटनगरस्थित क्याम्प हटेपछि अब यस्ता गलत कामहरु पनि बन्द हुने अपेक्षा गरिएको छ । यद्यपी, मोरङ प्रशासनले भने दूतावासको क्याम्प अफिसको सेवा बन्द गरिएको आधिकारी जानकारी आफूहरुलाई नआएको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *