Sajhamanch Archive

‘सलहले क्षति गरेको छैन, दक्षिणी हावाले अर्को समूह ल्याउन सक्ने’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्‍न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरूलाई आग्रह गरेको छ।

शनिबारबाट नेपालमा पनि सलह कीरा देखा परेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्‍याउने अभियान चलाउन आग्रह गरेको हो।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने बताएको छ। यस्तै टनेल भित्रको बालीलाई वरिपरिबाट कीरा छेक्ने गरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए। कीरा आउने सम्भावना भएका क्षेत्रमा रोपाई केही दिन पर सारेर गर्दा पनि क्षति कम हुने तर्फ ध्यान दिन उनले आग्रह गरेका छन्।

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले अहिलेसम्म नेपाल आइपुगेको सलह कीराको समूहले क्षति नपुर्‍याएको बताए। कीराले क्षति नपुर्‍याए पनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उनले फेरि हावाको चाप नेपालतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताए।

मन्त्रालयले विषादीको लागत राख्न पनि आग्रह गरेको छ। स्थानीय एग्रोभेटहरुलाई सुसूचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। खेतबारी, सार्वजनिक स्थान वा जंगलमा कीराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ। विषादी प्रयोग गर्दा साँझपख वा विहानै स्प्रेयरबाट छरेर सलह कीरा मार्न सकिन्छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *