Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई ‘सराप्दै’ कांग्रेस सडकमा

Published: in मुख्य समाचार, राजनीति by .

भद्रपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारको विरोध गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई निशाना साँधेको छ ।

दुई तिहाई बहुमतप्राप्त सरकार र दुई शक्तिशाली कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर गठन भएको नेकपाको समेत नेतृत्व गरेका प्रधानमन्त्री ओली मङ्गलबार सदरमुकाम चन्द्रगढीमा काङ्ग्रेसले आयोजना गरेको विरोध सभामा आलोचनाको केन्द्र बनेका हुन् ।

विपक्षी काङ्ग्रेसको शीर्ष तहका दुई नेताहरु प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विरोधसभालाई सम्बोधन गर्ने क्रममा अधिकांश समय ओलीकै विरुद्ध खर्चिएका हुन् ।

प्रवक्ता शर्माले मन्तब्यको सुरुवात नै ओलीले काङ्ग्रेसप्रति लक्षित गरेर केही दिन अघि माइतीघर मण्डलाको विषय जोडेर दिएको अभिव्यक्तिबाट गरेका थिए ।

ओलीले त्यो सम्बोधनमा काङ्ग्रेससँग जनमत नभएको हुँदा उसले विरोध प्रदर्शनका लागि माइतीघर मण्डलाको सानो ठाउँ मागेको टिप्पणी गरेको शर्माले सभामा सुनाए ।

उनले चन्द्रगढीको विरोध प्रदर्शनको तस्वीर बालुवाटार पठाइदिन आग्रह गर्दै दम्भको श्रीपेच फुकालेर विवेकको बाटोमा हिँड्न ओलीलाई सुझाव दिए ।

‘केपी कमरेड तपाईले दुई तिहाइको दम्भको श्रीपेच लगाउनु भएको छ’, शर्माले ओलीप्रति लक्षित गर्दै भने– ‘विवेकको बाटो हिँड्नुहोस् र दम्भको श्रीपेच खोल्नुहोस् ।’

उनले ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मै खोक्रो सावित भइसकेको, वृद्धभत्ता ५ हजार पुर्याउने आश्वासन झुठो प्रमाणित भइसकेको र मदन भण्डारीले लिएको बहुदलीय जनवादको राजनीतिक मार्ग छाडिसकेको दावी गरे ।

ओली सरकारले इँटादेखि पेट्रोलसम्म महङ्गो बनाएको, प्रश्न सोध्ने पत्रकारलाई जागिरबाट हटाएको, लाखौं नेपाली जनताको समर्थन प्राप्त डा. गोविन्द केसीलाई अधिनायकवादीको आरोप लगाएको, काङ्ग्रेसले गरेको सबै नियुक्तिहरुलाई उल्टाएको आरोप लगाउँदै प्रवक्ता शर्माले सरकारले सडक, संसद र मिडियामा नियन्त्रण थालेकोले नेपाली काङ्ग्रेस बाध्य भएर आन्दोलनमा उत्रिनु परेको धारणा व्यक्त गरे ।

यसैगरी, सोही कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीलाई दुई तिहाइको मात लागेको दावी दोहोर्याएका छन् ।

ओलीलाई लागेको दुई तिहाइको मात पूर्व राजा ज्ञानेन्द्रलाई लागेको सत्ताको मातजस्तै भएको सिटौलाको टिप्पणी छ ।

ओली सत्तामा आएपछि जनताको अधिकारमाथि दमन गर्न उद्यत भएको भन्दै नेता सिटौलाले प्रधानमन्त्री ओलीलाई होशमा आउन सचेत गराए ।

‘ओलीजीलाई अहिले सत्ताको मात लागेको छ’, सिटौलाले भने– ‘उहाँ होशमा हुनुहुन्न, चेतमा हुनुहुन्न, सपना र कल्पनामा उड्दै हुनुहुन्छ ।’

नेपालमा तानाशाही नटिक्ने र विगतमा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेको चर्चा गर्दै सिटौलाले भने– ‘यही कुरा सम्झाउन हामीले देशव्यापी रुपमा उत्रिनु परेको हो ।’

स्वागत मन्तब्यको क्रममा पार्टीका उपसभापति राम कट्टेल र सभाध्यक्षको आसनबाट जिल्ला सभापति उद्धव थापाले समेत ओली र नेकपा सरकारको चर्को आलोचना गरेका थिए ।

चन्द्रगढी रङ्गशाला छेउको खाली चौरमा भएको विरोध सभा कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *